‘साँढे मन्त्री’ आलेसँग नैतिकता भए पो राजीनामा दिन्छन् ?

काठमाडौं । राजनीति गर्ने व्यक्तिले मुख सम्हालेर बोल्नुपर्छ । मुख सम्हाल्न नसक्दा धेरै मन्त्रीहरूले पद गुमाएका उदाहरण प्रशस्त छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अभिव्यक्ति निकै तल्लोस्तरको छ । उनले आमालाई छोएर एकजना युवकलाई गाली गलौज गरेको अडियो सार्वजनिक भएको छ ।

मन्त्री आले लाज पचाएर पदमा बसेका छन् । आलेलाई पदबाट बर्खास्त गर्नुपर्ने बेला प्रधानमन्त्री शेरबहादुर देउवा चुपचाप छन् ।

आलेको पार्टी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि बचाउन लागेका छन् । अध्यक्ष नेपालले केही तत्व मन्त्रीहरूको बद्नाम गर्न लागेको भनेर बचाउ गरेका छन् ।

अध्यक्ष नेपाललाई आलेले चुनाव खर्च उठाइदिएका छन् । नेकपा एसबाट मन्त्री भएकाहरूमध्ये आले अध्यक्ष नेपालको सबैभन्दा नजिकको रोजाइमा छन् । किन भने आलेले नेपाललाई पार्टी चलाउन र चुनाव खर्च धमाधम उठाइदिएका छन् ।

नेपाल उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्ति गरेर अर्बौंको खेल भएको चर्चा र आरोप छ । आलेले अधिकारीसँग मोटो रकम असुलेर महानिर्देशकमा नियुक्त गरेको आरोप छ ।

होइन भने प्राधिकरणको महानिर्देशक राजकुमार क्षेत्री थिए । क्षेत्रीलाई कानून विपरीत हटाएर कनिष्ठ कर्मचारी अधिकारीलाई महानिर्देशक किन बनाइयो ? भनेर प्रश्न उठेको छ । अधिकारी निकै विवादित मानिन्छन् । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा समेत उजुरी छ ।

आलेले अछाम जिल्लाका जगत ओलीलाई मध्यराति म्यासेन्जरमा कल गरी गाली गरेका छन् । आलेले अपशब्द मात्र बोलेका छैनन्, ‘हातखुट्टा काटेर उठाइदिने’ धम्कीसमेत दिएका छन् ।

बंगलादेशमा पढ्ने नेपाली छात्राहरूको विषयमा गरेको टिप्पणीका कारण २०७५ सालमा कानूनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिए ।

बंगलादेशमा एमबीबीएस पढ्न जाने नेपाली छात्राले प्रमाणपत्र पाउन आफूलाई सुम्पनुपर्ने अभिव्यक्ति तामाङले दिएका थिए ।

२०७६ सालमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले स्वीस कम्पनीका नेपाली एजेन्ट विजय मिश्रसँग कमिसनको बार्गेनिङ गरेको अडियो बाहिरियो । अडियोमा उनले करोडौँ रुपैयाँ कमिसन मागेको, आफूमातहतका कर्मचारीबारे अपशब्द प्रयोग गरेको सुन्न सकिन्थ्यो । यसलाई लिएर चौतर्फी आलोचना भएपछि बाँस्कोटाले पद छोड्नुप¥यो ।

संसद सचिवालयकी महिला कर्मचारीले सभामुख कृष्णबहादुर महराविरुद्ध यौन दुर्व्यवहारको आक्षेप लगाइन् । यो प्रकरणमा छानबिनका लागि बाटो खुलाएको भन्दै महराले राजीनामा दिए । उनले अदालतबाट सफाइ पाइसकेका छन् ।

पार्टी अध्यक्षसमेत रहेका उप–प्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापासँग विवाद भएपछि २०७४ सालमा शहरी विकासमन्त्री दिलानाथ गिरीले राजीनामा गरेका थिए ।

२०७२ सालमा कृषिमन्त्री हरि पराजुलीले काठमाडौंको मूलपानीमा धानदिवस मनाउँदा महिलामाथि दुर्व्यवहार गरेका थिए । मन्त्री पराजुलीको त्यो हर्कतलाई लिएर आलोचना भएपछि उनले पद छोडे ।

शरतसिंह भण्डारी रक्षामन्त्री रहेका बेला विवादित अभिव्यक्ति दिँदा मन्त्री पद फुत्कियो । उनले तराईका २२ जिल्ला छुट्टिन कुनै कानूनले रोक्न नसक्ने भनेपछि चर्को आलोचना भयो । भण्डारी पदबाट बर्खास्त गरिएका थिए ।

२०४८ पछि कृषिमन्त्री बनेकी कांग्रेस नेतृ शैलजा आचार्यले आफ्नै मन्त्रालयमा भ्रष्टाचार हुन्छ भन्ने अभिव्यक्तिका कारण राजीनामा दिनुपरेको थियो ।

२०४५ सालमा दशरथ रंगशालामा खेल भइरहेका बेला हावाहुरीका कारण ७१ जनाले ज्यान गुमाएको घटनापछि तत्कालीन खेलकुदमन्त्री केशरबहादुर विष्ट, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव शरदचन्द्र शाह र फुटबल संघका अध्यक्ष कमल थापाले नैतिकताका आधारमा राजीनामा दिएका थिए ।

२०३६ सालमा तत्कालीन शिक्षा सहायकमन्त्री कल्पना विष्टले दिएको एउटा अभिव्यक्ति विवादमा परेपछि राजीनामा दिइन् ।

सोही वर्ष अर्थात् २०३६ सालमै वीर अस्पतालका डा. सुदीपकुमार भट्टाचार्यसँग तत्कालीन स्वास्थ्य राज्यमन्त्री डम्बरनारायण यादवको विवाद भयो । डा. भट्टाचार्यले अलि राम्रो पेपरमा लेखेर दिन तपाईंको हैसियतलाई सुहाउँदैन भन्दै ट्वाइलेट पेपरमा राजीनामा लेखेर बुझाए । यही विवादका कारण मन्त्री यादवले पद छाडिदिए ।

२००७ सालमा विद्यार्थी नेता चिनियाँकाजी श्रेष्ठको मृत्यु प्रकरणलाई लिएर तत्कालीन सरकारका गृहमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले नैतिकताका आधारमा राजीनामा दिएका थिए ।

Published : Thursday, 2022 February 17, 5:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया