शेखरले बनाए गुटभित्रै उप–गुट, यस्तो छ रामचन्द्र–शशांकलाई अहसयोगको श्रृङ्खलाहरू

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा पराजित शेखर कोइरालाले आफ्नो समूहको बुधवार बृहद् भेला बोलाएका छन् ।

भेलामा १४औं महाधिवेशनबाट आफ्नो समूहबाट पदाधिकारी तथा केन्द्रीय समितिमा उम्मेदवार बनेका, निर्वाचत भएका र प्रदेश समितिमा उम्मेदवार भएकाहरूलाई निम्ता गरिएको छ ।

तर, शेखरको यो भेलामा शेखर र उनीनिकट रहेका नेताहरूको गतिविधिलाई केही पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले सहज मनिरहेका छैनन् ।

विषेशगरि १३औं महाधिवेशनमा तत्कालीन कोइराला समूहबाट उम्मेदवार बनेका रामचन्द्र पौडेललाई असहयोग गर्ने तथा सो समयमा सभापति शेरबहादुर देउवा र कृष्ण सिटौला निकट भएका चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, गगन थापाका गतिविधिमाथि उनीहरूले प्रश्न उठाएका छन् ।

अहिले सभापतिमा देउवा निर्वाचित हुनुभन्दा पनि संस्थापन इतर पक्षबाट सभापतिका उम्मेदवार शेखरको गतिविधि र अभिव्यक्तिले अरु नेताहरू बिच्किएका छन् ।

शेखर मिडियाबाजीमा मात्र उत्रिएर अरु नेताहरूको अस्तित्व नस्विकारेको धेरै नेताहरूको गुनासो छ । ती नेताहरूले शेखर सभापति जित्नका लागि भन्दा पनि देउवा इतर समूहको नेता हुनको लागि सभापतिको उम्मेदवार बनेको निष्कर्ष निकालेका छन् ।

१३औं महाधिवेशनमा देउवा र सिटौला समूहमा पुगेका नेताहरूले शेखरलाई सभापतिको उम्मेदवार बनाएर देउवा इतर समूहमा आफ्नो हालिमुहाली थालेका छन् ।

त्यसैका लागि अहिले शेखर समूहबाट उप–सभापतिका उम्मेदवार चन्द्र भण्डारी अहिले सबैभन्दा बढि देउवा विरोधी देखिएका छन् । उनी देउवा विरोधी देखिनका लागि रामचन्द्र पौडेल र शशांक कोइरालालाई समेत आफ्नो समूहमा नरहेको बताउन थालेका छन् । उनी १३ औं महाधिवेशनका बेलामा मन्त्री बन्ने लोभमा सभापति देउवा समूहमा पुगेका थिए ।

कुनै समय कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई चुनाव हराउने ‘नाइके’ भण्डारी थिए । १३औं महाधिवेशनमा देउवा महामन्त्रीको उम्मेदवार बनेका अर्जुननरसिंह केसी पनि अहिले शेखरलाई उचालेर देउवा इतर समूह तितरवितर बनाउन लागेका छन् । भण्डारी र केसीको अभियानमा महामन्त्री गगन थापाले पनि साथ दिएका छन् । यी तीन जनाले शेखरलाई उचालेको अन्य पदाधिकारी तथा सदस्यहरूलाई चित्त बुझेको छैन ।

खासगरि यी तीन जानको काम भनेको पौडेल र शशांकलाई बदनाम गराउनेभन्दा अरु केहि नभएको बाँकी नेताहरूको निष्कर्ष छ । केहि पदाधिकारी र केन्द्रीय सदस्यहरूले गुरु घिमिरे प्रदेश सभापतिमा पराजित भएको विषय र विगतमा मनोजमणि आचार्यलाई नेविसंघमा हराएको विषय समेत उठाउने तयारी गरेका छन् ।

गुरु घिमिरे प्रदेश नम्बर एकको सभापतिमा दुई भोटले पराजित भएका थिए । शेखर, उनकै समूहमा रहेका नेता बलबहादुर केसी, सुजाता कोइराला, महेश आचार्यले मतदान गरेका थिएनन् । शेखर प्रदेश अधिवेशनमा समेत खुलेर भोट पनि मागेनन् ।

शेखरले प्रदेश नम्बर एकको प्रदेश अधिवेशनमा समेत कृष्ण सिटौलासंग सहकार्य गरेका थिए । महाधिवेशनमा सिटौलाले सहयोगको बचन दिएकाले उनी प्रदेश अधिवेशनमा सिटौलासंग सहकार्य भएको तथ्य खुलेको छ । सोही अनुसार दोश्रो मतदान अगाडि राजेन्द्र बजगाइँको मध्यस्थतामा शेखर र सिटौलाबीचमा छलफल समेत भएको थियो । सो छलफलको सूचना बाहिर आएपछि कुन्दन काफ्लेहरूले आफूहरू देउवा समूहमा नै रहेको विज्ञप्ति जारी गरेका थिए ।

नेविसंघको ११औँ महाधिवेशनमा पनि शेखरले अहिलेको जस्तै खेल खेलेका थिए । ती नेताका अनुसार नेविसंघको अधिवेशनमा संस्थापन इतरका सभापतिका प्रत्यासी मनोजमणि आचार्यलाई हराउन भूमिका खेलेका थिए । आचार्य लगभग सय मतको अन्तरले संस्थापन पक्षका उम्मेदवार नयनसिंह महरसँग पराजित भएका थिए । आचार्यलाई हराउन शेखरले नै त्यतिबेला तनहुँका नेविसंघ नेता आनन्दराज त्रिपाठीलाई उठाएका थिए ।

सो बेलामा शेखरका नजिकका मान्छे अहिले प्रदेश नम्बर एकका मन्त्री केदार कार्की र शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलिया समेत त्रिपाठीको पक्षमा खुलेर भोट मागेका थिए । त्रिपाठी ३ सय ४८ मत ल्याएका थिए । शेखरकै कारण महामन्त्रीमा पनि संस्थापन इतर समूहका हिमालदत्त श्रेष्ठ र दीपक भट्टराई पराजित भएका थिए । सो बेलामा शेखरले देउवालाई सहयोग गरेका थिए ।

त्यो बेलामा रामचन्द्र पौडेल देउवा इतर समूह जोगाउनका लागि लड्दै गर्दा शेखर भने देउवालाई सहयोग हुने गतिविधि गरिरहेका हुन्थे । उनी अघिल्लो संसद भएका बेलामा देउवाले प्रधानमन्त्री भएपछि परराष्ट्रमन्त्री नबनाएपछि मात्र देउावसंग बिच्किएका हुन् । अहिले शेखरको समूहका पदाधिकारी तथा सदस्यहरू विगतमा देउवा र सिटौलाका सहयोगी बनेकाहरूलाई कसरी नेता मान्ने मान्ने भन्ने प्रश्न उठ्न थालेको छ ।

Published : Wednesday, 2022 January 5, 8:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया