सिआइबीको कामले गृहमन्त्री खुसी, डीआइजी सिंहको टिमले ठूलो माछा सिध्याइ छाडे

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले दुई करोड ७१ लाखभन्दा धेरै रकम ठगी गरेर फरार रहेका ४३ वर्षीय केदार ढुंगानालाई पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु– १ का ढुंगानालाई पोर्चुगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरी स्वदेश ल्याएको सिआईबीका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

प्रहरीले पोर्चुगल प्रहरी (नेसनल सेन्टर ब्युरो)सँगको समन्वयमा ढुंगानालाई पक्राउ गरी ल्याएको जनाएको छ ।

ढुंगाना नेतृत्वको समूहले सवारी कर्जा लिने बहानामा नक्कली बिलबुक र धनीपुर्जा पेस गरेर काठमाडौं र ललितपुरस्थित देवः विकास बैंकबाट दुई करोड ७१ लाख ७६ हजार ठगी गरेको थियो ।

उनीहरूविरुद्ध ठगी प्रमाणित भएपछि ललितपुर जिल्ला अदालतले १० वर्ष कैद र सात लाख रुपियाँ जरिवाना हुने फैसला गरेको थियो । ढुंगाना पोर्चुगलमा लुकेर बसेको सिआइबीले पत्ता लगाएको डीआइजी सिंहले बताएका छन् ।

सिआइबीको अनुरोधमा नेपाल प्रहरीले ढुंगानाविरुद्ध १७ वैशाखमा डिफ्युजन नोटिस जारी गरेको थियो । नोटिस ३१ वैशाखामा रेड कर्नर नोटिसमा रूपान्तरण भएको थियो ।

ढुंगानाले पोर्चुगलमा रेसिडेन्स पर्मिटका लागि निवेदन हालेको नेपाल प्रहरीले इन्टरपोलमार्फत सूचना प्राप्त गरेको थियो ।

सिआइबी प्रमुख डिआइजी धीरजप्रताप सिंहले पोर्चुगल प्रहरीलाई ढुंगानाले नेपालमा जस्तै ठगी गर्न सक्छ भनेपछि पक्राउ गर्न सहमति भएको बताएका छन् । ‘हाम्रो टोली पोर्चुगल पुग्यो । ढुंगाना बसेको स्थान पत्ता लाग्यो’, सिंहले भने, ‘पक्राउ गर्न पोर्चुगल प्रहरीलाई अनुरोध गर्‍यो । उनीहरूलाई कन्भिन्स गर्न दुई महिना लाग्यो ।’

ढुंगानाविरुद्ध काठमाडौं जिल्ला अदालतमा पाँच र पाटन उच्च अदालतमा १६ वटा मुद्दा अझै विचाराधीन छन् । काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी र उच्च अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दा छन् ।

ढुंगानाले सवारीसाधन कर्जा लिने बहानामा बैंक ठग्ने योजना बनाएका थिए । नारायणबहादुर श्रेष्ठसहित १२ जनाको समूहले ढुंगानालाई सहयोग गरेको सीआइबीको विज्ञप्तिमा उल्लेख छ ।

कर्जाका लागि देवः विकास बैंकको काठमाडौं र ललितपुरस्थित शाखा कार्यालय छनोट गरेका थिए । उनीहरूले सबै सवारीसाधनको नक्कली बिलबुक र धनीपुर्जा बनाए । ती कागजात बैंकमा पेस गरे । बैंकले दुई करोड ७१ लाख ७६ हजार रुपियाँ ऋण दियो । ऋण पाएपछि सबै सम्पर्कविहीन बनेका थिए ।

ऋणीहरू गायब भएपछि धितो लिलाम गर्न बैंक यातायात व्यवस्था कार्यालय पुग्यो । धितोमा राखिएका सबै सवारीसाधन नक्कली रहेको यातायात कार्यालयमा खुल्यो ।

बैंकले सिआइबीमा उजुरी गर्‍यो । ठगीमा संलग्न १२ जनालाई पक्राउ गरे पनि मुख्य योजनाकार ढुंगाना फरार थिए ।

नेपाल प्रहरीको सीआइबीको टिमले ठूलो रकम बैंकलाई ठगी गरेर फरार रहेका ढुंगानालाई पोर्चुगलबाट पक्राउ गरेर ल्याएपछि गृहमन्त्री बालकृष्ण खाण पनि खुसी भएका छन् ।

खाण गृहमन्त्री बनेर आउनेवित्तिकै सीआइबीले ठूलो काम फत्ते गरेको छ । पोर्चुगलबाट ढुंगानालाई सिआइबीले पक्राउ गरेर ल्याएको समाचार हेरेपछि गृहमन्त्री खाणले सचिवालयका सहयोगीहरूसँग खुसी व्यक्त गरेको स्रोतले जनाएको छ ।

Published : Sunday, 2021 August 15, 7:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया