दाङमा रेम्डिसिभिर सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको नेपालगञ्ज कार्यालयको निर्देशनमा स्थानीय प्रशासनले रोक लगाएको छ ।

कोरोना महामारीका बेला दाङमा धेरै संक्रमितले ज्यान गुमाउनु परेको छ । सरकारले पनि समयमा रेम्डिसिभिर औषधि ल्याएर बिरामीलाई प्रयाप्त दिन नसकेका बेला स्थानीय निजी क्षेत्रका व्यवसायीहरूले सरकारले तोकेको मूल्यभन्दा १ सय रुपियाँ कममा दिएपछि कालोबजारी गर्ने तस्करहरूलाई तनाब भएको थियो ।

तस्करहरूको दवावमा औषधि व्यवस्था विभागको नेपालगञ्ज कार्यालयले रेम्डिसिभिर औषधि सस्तोमा बिक्री नगर्न दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलमार्फत कालिका मेडिकल हल र मिलेनियम फर्मास्युटिकललाई रोक लगाइएको चर्चा घोराहीमा छ ।

घोराहीस्थित कालिका मेडिकल हलमा दाङका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना र जिल्ला प्रहरी कार्यालय दाङका डीएसपीको टोलीले मुचुल्का उठाएर रेम्डिसिभिर औषधि बिक्रीमा रोक लगाएको कालिका मेडिकल हलका सञ्चालक बद्रीप्रसाद खड्काले जानकारी दिए ।

‘कोरोना महामारीका बेला कोरोना संक्रमित गम्भीर बिरामीहरूलाई चिकित्सकको सिफारिसमा रेम्डिसिभिर औषधि बजार मूल्यभन्दा १ सय रुपियाँ कममा बिक्री गरेका थियौँ’, खड्काले भने, ‘औषधि व्यवस्था विभागको निर्देशन भनेर स्थानीय प्रशासनले रेम्डिसिभिर औषधि बिक्री गर्न रोकेको छ ।’

खड्काले रेम्डिसिभिर औषधि ४८ पिस आएकोमा ३० पिस चिकित्सकहरूको सिफारिसमा फोटो कपी राखेर रु.४८ सयमा दिएको बताए ।
बजारमा रेम्डिसिभिर औषधिको ब्ल्याकमा बिक्री हुने गरेको छ । बिरामीले न्यूनतम २० देखि १ लाखसम्ममा औषधि खरिद गरेर लगाउनुपर्ने बाध्यता भएका बेला दाङमा निजी क्षेत्रले सस्तोमा औषधि बिक्री गर्दा रोकेर अबरोध गरिएको छ ।

रेम्डिसिभिर औषधिका होलसेल मिलेनियम फर्मास्युटिकलका सञ्चालक शालिकराम आचार्यले दाङका प्रमुख जिल्ला अधिकारीसँग अनुमति लिएर रेम्डिसिभिर औषधि कालिका मेडिकल हलबाट कोरोना संक्रमितका बिरामीलाई सरकारले तोकेको भन्दा १ सय रुपियाँ कममा बिक्री गरिएको बताए ।

उनले कोरोना महामारीका बेला जनता र राज्यप्रति व्यवसायीहरूको पनि दायित्व रहने बताए ।

सोही दायित्वअनुसार आफूहरूले सरकारी मापदण्ड पूरा गरेर कोरोनाका संक्रमितलाई सस्तोमा रेम्डिसिभिर औषधि दिएको आचार्यले बताएका छन् ।

दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलको कुनै दोष आफूले नदेखेको बताए । उनले भने, ‘औषधि व्यवस्था कार्यालय नेपालगञ्जको पत्र आएपछि हामीले कोरोनाविरुद्ध प्रभावकारी मानेर चिकित्सकहरूको सल्लाहमा प्रयोग हुँदै आएको औषधि रेम्डिसिभिर बिक्री नगर्न भनेका हौँ । औषधि व्यवस्था कार्यालय नरोक्न भन्यो भने हामीले रोक्दैनौँ ।’

औषधि व्यवस्था विभागको नेपालगञ्ज कार्यालयका प्रवक्ता धनबहादुर बोहराले घोराहीको कालिका मेडिकल हल र मिलेनियम फर्मास्युटिकलले प्रचार प्रसार गरेर रेम्डिसिभिर औषधि बिक्री गरेकाले रोक्नु परेको बताए । कोरोना महामारीका बेला बिरामीलाई औषधि खोज्न सहज होस् भनेर प्रचार प्रसार गरिएको औषधि व्यवसायीहरूको स्वीकारोक्ति छ ।

कार्यालयका प्रवक्ता बोहराले भने, ‘उहाँहरूविरुद्ध लिखित उजुरी परेको छैन । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईको निर्देशनमा दाङको कालिका मेडिकल हल र मिलेनियम फर्मास्युटिकललाई रेम्डिसिभिर औषधि बिक्रीमा रोक लगाउन दाङका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेका हौँ ।’

बोहराले कालोबजारी गरेका कारण रेम्डिसिभिर औषधि बिक्रीमा रोक नलगाइएको स्वीकार गरेका छन् । बोहराले भने, ‘उहाँहरूले कालोबजारी गर्नुभएको छैन । सरकारले तोकेको भन्दा १ सय रुपियाँ कममा औषधि दिनुभएको छ ।’

तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालको फार्मेसीका ईञ्चार्ज सुलभ अधिकारीलाई रेम्डिसिभिर औषधि निजी क्षेत्रले सस्तोमा बिक्री गरेको चित्त बुझेको थिएन ।

अधिकारीले भने, ‘हामीले रेम्डिसिभिर औषधि ४९ सयमा बिक्री गरेका छौँ । निजी क्षेत्रले ४८ सयमा बिक्री गरेका छन् ।’

तपाईहरूको उजुरीमा औषधि व्यवस्था विभागले घोराहीमा रेम्डिसिभिर औषधि सस्तोमा बिक्री गर्न प्रतिबन्ध लगाएको त होइन ? भन्ने जिज्ञासामा तुलसीपुर प्रादेशिक अस्पतालको फार्मेसीका ईञ्चार्ज अधिकारीले भने, ‘हामीले त्यस्तो केही गरेका छैनैँ । उजुरी हालेका छैनौँ । हामीले किन उजुरी हाल्ने ? यस्तो नचाहिने कुरा कसले भन्यो ?’

घोराहीमा रेम्डिसिभिर औषधि बिक्री गर्न स्थानीय प्रशासनले रोक लगाएपछि चर्को बिरोध भएको छ । सामाजिक सञ्जालमा स्थानीय प्रशासन र औषधि व्यवस्था कार्यालय नेपालगञ्जमाथि आक्रोश पोखेका छन् ।

Published : Monday, 2021 May 17, 8:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया