कम्युनिस्ट अधिनायकवादको सामना गर्न निर्देशन, बागलुङमा कांग्रेसको भव्य प्रदर्शन (तस्वीर)

बागलुङ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् ।

सोमबार बागलुङमा सरकारविरुद्धको प्रदर्शनपछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै केसीले कम्युनिस्टहरूको बेथितिका कारण केन्द्रदेखि वडासम्म भ्रष्टाचार पुगेको बताए । उनले भने, ‘कोरोना महामारीका बेला स्वास्थ्य सामग्रीमा भ्रष्टाचार, ओम्नी काण्ड, वाइडबडी काण्ड, यती काण्ड भएका छन् । यो देशमा लोकतन्त्रमाथि संकट आएको छ ।’

नेता केसीले झापाबाट मान्छे मारेर आएको एमाले र १७ हजार मान्छे मारेको माओवादीलाई कांग्रेसले शान्ति प्रक्रियामा ल्याएको बताए । उनले एमाले र माओवादी मिलेर लोकतान्त्रिक शान्ति होला भन्ने लागेको भन्दै सत्ता र कुर्सीका लागि लडेको देख्दा त्यो सम्भावना नरहेको बताए ।

तोरी र कोदो मिसाएर तेल आउँदैन भन्ने कुरा जनताले बुझेको केसीले बताए । उनले प्रहरी प्रशासनलाई आफ्नो नियन्त्रणमा राखेर राज्य शक्तिको दुरुपयोग गरेको बताएका छन् ।

कम्युनिस्टहरूसँगको लडाइँ लोकतन्त्र बचाउने लडाइँ भएको नेता केसीले बताएका छन् । उनले संविधानभन्दा बाहिरको शक्ति सलबलाएको भन्दै सरकारको असफलताका कारण राजावादीहरू सडकमा आएको बताए । उनले लोकतान्त्रिक अधिकारलाई जगेर्ना गर्न तेस्रो जनआन्दोलन आवश्यक रहेको बताएका छन् ।

नेता केसीले कम्युनिस्टहरूले जनताको एजेण्डा भुलेर सत्ता र कुर्सीमा संघर्ष गरिरहेको बताए । उनले कम्युनिस्ट अधिनायकवादविरुद्ध प्रतिरोध गरिएको बताएका छन् ।

कांग्रेस नेता केसीले लोकतन्त्रका लागि संघर्ष गर्नुपर्ने बेला आएको भन्दै कम्युनिस्ट अधिनायकवादको डटेर सामना गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

बागलुङका गाउँ–गाउँबाट हजारौँको संख्यामा नेता कार्यकर्ताहरू उपस्थिति भएको नेपाल तरुण दल बागलुङका कोषाध्यक्ष देवेन्द्र मगरले जानकारी दिए । उनले विरोध प्रदर्शनमा सहभागीहरूले कम्युनिस्ट सरकार र अधिनायकवादविरुद्ध नारावाजी गरेको बताए ।

प्रदर्शनमा केन्द्रीय सदस्य केसीका साथै आमन्त्रिक केन्द्रीय सदस्य किरण पौडेल, बागलुङ कांग्रेसका पूर्वसभापति प्रकाश पौडेल, नेता मणिभद्र शर्मा कँडेलल, क्षेत्रीय सभापतिहरू चिरञ्जीवी गौतम, दोर्णकुमार कुँवर, नारायण पौडेल, तरुण बिभागका सदस्य अर्जुन शेरचन, महाधिवेशन प्रतिनिधिहरू जितबहादुर शेरचन, भीम श्रीस, बागलुङ कांग्रेसका पूर्वकार्यबाहक सभापति जगदीश उपाध्याय, नेपाल तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबू’, नेपाल महिला संघकी अध्यक्ष शकुन्तला शर्मा लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Published : Monday, 2020 December 14, 1:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया