काण्ड गरेर भागेका पूर्वमन्त्रीका भाई पक्राउ

जनकपुरधाम । रौतहट हत्याकाण्डका फरार अभियुक्त मो.महताव आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख एवम् डीआईजी धिरजप्रताप सिंहका अनुसार आलमलाई रौतहट जिल्लाको बौधीमाई नगरपालिका–७ बड्की बंकुलबाट पक्राउ गरिएको हो ।

राजपुर नगरपालिका–४ बस्ने ५५ वर्षीय मो.आलमलाई सोमबार प्रहरीले पक्राउ गरेको डीआईजी सिंहले बताएका छन् ।

मो.आलमलाई पक्राउ गर्न २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाबाट खटिएको प्रहरीले बड्की बंकुलबाट पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ ।

२०६४ चैत २८ गते भएको संविधान सभाको चुनावलाई लक्षित गरी धाँधली गरी जित्नका लागि चैत २७ गते साँझ राजपुर नगरपालिका–४ स्थित शेख इद्रिशको गोठ घरमा विष्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा बम विष्फोट हुँदा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह ताजपुत समेत १५–१६ जना घाइते भएका थिए ।

सो घटनामा २–३ जनाको मृत्यु भएको थियो । मृतक तथा घाइतेहरूलाई ट्याक्टरमा लोड गरी नजिकै रहेको इँटाभट्टामा लगि जलाइएको घटनामा संलग्न रही आलम फरार रहेका थिए ।

प्रारम्भिक अनुसन्धानमा महतावले आफ्नो दाई मो. अफताव आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विष्फोटमा परी मृत्यु तथा घाइते भएका मानिसहरूलाई ट्याक्टरमा राखि इँटाभट्टामा जलाएको स्वीकार गरेको खुल्न आएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख सिंहले बताएका छन् ।

सो घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पूर्वमन्त्री मो.अफ्ताव आलमलाई पक्राउ गरेर कारागारमा राखेको छ ।

Published : Monday, 2020 December 7, 4:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया