कांग्रेसको गुट र आरोपको राजनीति गाउँबाटै अन्त्य गरौँः खतिवडा

सप्तरी । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्टहरूले मधेसी जनतालाई प्रयोग गरेर सत्तामा जाने भ¥याङ मात्रै बनाएको टिप्पणी गरेका छन् ।

सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिका–४ सोमबार बिहान पार्टी स्थानीय नेता कार्याकर्तासँगको भेटघाटका क्रममा खतिवडाले मधेसी जनता अबका दिनमा कम्युनिस्टहरूका मीठा कुरामा भुल्न नहुने बताए । उनले भने, ‘कम्युनिस्टहरूले भोट लिने वेला मात्र मधेस जनतालाई प्रयोग गर्छन् । जितिसकेपछि मधेसलाई वेवस्ता गर्छन् ।’

कम्युनिस्टका नाममा अवसर लिने ती नेताहरूलाई अबको निर्वाचनमा मधेसी जनताले उपयुक्त निर्णय गरेर सबक सिकाउनुपर्ने खतिवडाले बताएका छन् ।

उनले हिजोका दिनमा मधेसबाट दुःख गरेको कुनै पनि मधेसीले अवसर नपाएको बताए ।
दुईतिहाईभन्दा धेरै सिट जितेर बनेको कम्युनिस्ट सरकार आफ्ना कार्यकर्ताहरूलाई कहाँ ब्यवस्थापन गरेर भ्रष्टाचार गर्ने भन्नेमा लागेको उनले बताए ।

नेकपाको सरकारले मुलुक निर्माण गर्न ध्यान नदिएको बताएका छन् । नेता खतिवडाले कांग्रेसभित्र धेरै गुटहरू भएका कारण समस्या देखिएको बताएका छन् । उनले गाउँ–गाउँबाट गुट र आरोपको राजनीति अन्त्य गर्नुपर्ने बताएका छन् ।


नेपाली कांग्रेस पार्टी कमजोर हुँदा नेपालमा लोकतान्त्रिक पद्धति र जनजीविकाको सवालहरू कमजोर भएकोमा नेता खतिवडाले चिन्ता जनाए ।

कांग्रेस नेता खतिवडाले आइतबार सिरहामा पार्टी सभापतिसहित नेता कार्यकर्ताहरूसँग भेटघाट गरेका थिए । उनी उदयपुर हुँदै ओखलढुंगा जाने कार्यक्रम छ ।

Published : Monday, 2020 December 7, 10:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया