सभामुखको क्षेत्रमा नेविसंघको भव्य प्रदर्शन, कम्युनिस्टहरूभित्रै उथलपुथल

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लामा नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नम्बर १ ले अरनिको कलेज जानेद्वार र बाह्रबिसे बजारको मुख्य चोकमा कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध प्रदर्शन गरेको छ ।

नेविसंघका क्षेत्रीय अध्यक्ष तथा स्ववियु सभापति हेमन्त श्रेष्ठको नेतृत्वमा आइतबार ओली नेतृत्वको कम्युनिष्ट सरकार भ्रष्ट भएको भन्दै प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री ओलीले नेपाललाई भ्रष्टाचारमा एशियाको सर्वोत्कृष्ट नं. १ बनाएको भन्दै नेविसंघले प्रदर्शन गरेको जनाएको छ ।

नेविसंघले कम्युनिस्ट सरकार र प्रधानमन्त्री ओलीले मुलुकलाई एक नम्बर भ्रष्टहरूको अखडा बनाएको भन्दै व्याङ्गात्मक रुपमा बधाइ समेत दिएको छ ।

नेविसंघका सभापति श्रेष्ठले कम्युनिस्टहरूबाट दिन प्रतिदिन बेथिति, भ्रष्टाचार मौलाएको भन्दै कम्युनिस्टहरूलाई मुलुकबाट उन्मुलन गर्नुपर्ने बताएका छन् ।

उनले मुलुकमा हत्या र हिंसा पनि मौलाउँदै जाँदा समेत कम्युनिस्ट सरकार मौन बसेको आरोप लगाएका छन् ।

नेपालको इतिहासमा शक्तिशाली कम्युनिस्ट सरकार हुँदा समेत कुनै पनि विकासका काम गर्न नसकेको सभापति श्रेष्ठले आरोप लगाए ।

नेविसंघका उप–सभापति भवेश श्रेष्ठले कम्युनिष्ट सरकारले राष्ट्रिय मुद्धाहरूमा समेत नाङ्गो राष्ट्रवाद प्रस्तुत गरेको बताए ।

कार्यक्रममा सभापति श्रेष्ठका साथै उपाध्यक्ष भवेश श्रेष्ठ, उमेश श्रेष्ठ, गौरव श्रेष्ठ, अरनिको कलेजका नेता गणेश श्रेष्ठ, राजेश श्रेष्ठ र शारदा माविका नेता निश्चल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसले मंसिर–२९ गते देशव्यापी बिरोध प्रदर्शन गर्दै छ । सो कार्यक्रमलाई सहयोग पुगोस् भन्ने उदेश्यले नेविसंघले आइतबार प्रदर्शन गरेको जनाएको छ ।

सिन्धुपाल्चोकको क्षेत्र नं. १ बाट तत्कालीन माओवादीका अग्निप्रसाद सापकोटा प्रतिनिधि सभामा निर्वाचित भएका छन् । सापकोटा हाल प्रतिनिधि सभाको सभामुख पनि छन् । सापकोटाले यो क्षेत्रमा काम गर्न नसकेको भनेर आलोचना हुँदै आएकोछ ।

Published : Sunday, 2020 December 6, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया