बागमती प्रदेशको खेलकुदसम्बन्धी तयारीबाट राखेप खुसी

काठमाडौं । बागमती प्रदेश खेलकुद विकास परिषदले आफू मातहतका १३ जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरूलाई अभिमुखीकरण कार्यक्रममा सहभागी गराएको छ ।

संघीय परिषद् र प्रदेश खेलकुद विकास परिषदबीचको पहिलो संयुक्त कार्यक्रममा सहभागीहरूले विभिन्न किसिमका धारणा राखेका थिए । प्रदेश र संघबीच समन्वय र सहकार्यको शुरु भएको अर्थमा कार्यक्रम पहिलो भएको हो ।

काठमाडौंमा भएको कार्यक्रममा प्रदेशका प्रमुख अतिथिका रुपमा बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सम्बोधन गरेका थिए ।

ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइराला, प्रदेश सभा सदस्य मीना ज्ञवाली लगायतले सम्बोधन गरेका थिए ।

बागमती प्रदेशका मन्त्री दुलालले संघीय संरचनाअनुसार अहिलेका खेलकुद संरचनाले राम्रोसँग काम गर्न सकेमा खेलकुदजगतको स्वर्ण युग शुरु हुने बताए ।

सदस्यसचिव सिलवालले आफूहरू बागमती प्रदेशको कामबाट अत्यन्तै प्रभावित भएको बताए ।

उनले भने, ‘बागमती प्रदेशले केन्द्रीय परिषद् र केन्द्र सरकारलाई समेत पछिपछि हिड्न बाध्य पारेको छ ।’

उनले प्रदेशले केन्द्रको सिको गर्नुपर्नेमा अहिले केन्द्रले प्रदेशको सिको गरेर योजना र कार्यक्रम बनाउनुपरेको बताए ।

प्रदेशका सामाजिक विकास मन्त्री दुलाल खेलकुद र खेलक्षेत्रको संभावना बुझेको मन्त्री भएको हुँदा बागमती प्रदेश धेरै अगाडि जान सक्षम भएको समेत सिलवालले बताएका छन् ।

देश संघीयतामा गइसकेपछि प्रदेश र राखेपबीच बलियो समन्वय गरि काम गरेमा मात्रै सबै तहका सरकारले खेलकुद क्षेत्रमा उल्लेख्य उपलब्धी हासिल गर्न सक्नेमा सबैको जोड दिएका थिए ।

कार्यक्रमका अध्यक्ष तथा प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव सूर्यलाल भण्डारीले जिल्लाका अध्यक्ष र कार्यालय प्रमुखहरूलाई अबका दिनमा काम गर्दा आइपर्न सक्ने सम्भावित कानूनी अस्पष्टता र अन्योलका बीच कसरी काम गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका विभागीय प्रमुख कुलबहादुर थापाले प्रशासन सञ्चालन र कर्मचारीहरू ब्यवस्थापनसम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा १३ जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यालय प्रमुखहरू र प्रदेश खेलकुद विकास परिषदका सबै सदस्यहरूको सहभागिता रहेको थियो ।

Published : Sunday, 2020 December 6, 10:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया