कम्युनिस्ट सरकारविरुद्ध पोखरामा मंसिर २९ गते यसरी हुनेछ प्रदर्शन

पोखरा । कम्युनिस्ट सरकारविरुद्ध नेपाली कांग्रेस कास्कीले पोखरामा भव्य प्रदर्शनको तयारी गरेको छ ।

कांग्रेसको केन्द्रीय कार्यक्रमअन्तर्गत मंसिर २९ गते देशव्यापी प्रदर्शन हुँदै छ । कास्की कांग्रेसले पनि प्रदर्शनका लागि तयारी शुरु गरेको छ ।

कास्की कांग्रेस कास्कीका पदाधिकारी, क्षेत्रीय सभापति, पोखरा नगर पदाधिकारी, प्रदेश सभापति र गाउँपालिका सभापतिको आइतबार बसेको संयुक्त बैठकले प्रदर्शनको भव्य तयारी गर्ने निर्णय गरेको छ ।

पोखराको वीपी चोकबाट प्रदर्शन शुरु गर्ने निर्णय भएको सभापति कृष्ण केसीले जानकारी दिएका छन् । महेन्द्रपुल, नयाँ बजार हुँदै पृथ्वीचोक पुगेर कोणसभा गर्ने निर्णय गरेको केसीले बताए ।

कांग्रेसले सरकारको अधिनायकवादी चिन्तन, व्यवहार, बेथिति र बढ्दो भ्रष्टाचारविरुद्व ७७ जिल्लामा नै प्रदर्शन गर्दै छ ।

बैठकले प्रदर्शनमा सहभागी हुन पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, भ्रातृ तथा शुभेच्छुक संघ संस्था, बुद्विजीवी, उद्योगी व्यवसायीलाई आव्हान गरेको छ ।

कास्की कांग्रेसले प्रजातन्त्र सेनानी लीलाभक्त आचार्य र कास्की कांग्रेसका पूर्व जिल्ला सदस्य राजेन्द्ररमण पराजुलीलाई पत्नीशोक परेकोमा दुःख व्यक्त गरेको छ ।

बैठकले कास्कीको साविक सल्यान गाविसका अध्यक्ष खड्कबहादुर क्षेत्री र पोखरा ९ का पूर्व जनप्रतिनिधि भगवती राजभण्डारीको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।

Published : Sunday, 2020 December 6, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया