नेकपाबाट असहयोग खेप्दै आएका ओलीलाई कांग्रेसको निर्णयले झट्का, कांग्रेसभित्र तयारी

काठमाडौं । नेपाली कांग्रेसले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारविरुद्ध देशभरि आन्दोलन चर्काउने निर्णय गरेको छ ।

शुक्रबार काठमाडौंको बुढानिकलण्ठमा बसेको पदाधिकारी र शीर्ष नेताहरूको बैठकले सरकारविरुद्ध मंसिर २९ गते देशभरि एक साथ प्रदर्शन गर्ने निर्णय गरेको सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

‘वर्तमान कम्युनिष्ट सरकार निरन्तर रुपमा दमन, भ्रष्टाचार र कोभिड—१९ को अव्यवस्थापनको पर्यायवाची बनेको छ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘यी विषयहरुमा नेपाली कांग्रेसले निरन्तर रुपमा सरकारलाई खबरदारी गर्दै आएको छ’, कांग्रेसले भनेको छ, ‘यसका वावजुद देशमा यी प्रवृत्तिहरू घट्नुको साटो बढ्दो छ ।’

‘कांग्रेस एकातर्फ कम्युनिष्ट सरकारको अधिनायकवादी चिन्तन र ब्यवहारका विरुद्ध संघर्षरत छभने अर्कातर्फ प्रतिगमनका आकांक्षाहरु र सबै खाले भ्रष्टाचार एवं बेथितिविरुद्धमा एक ढिक्का रहेर सडकदेखि संसदसम्म प्रस्तुत हुन लाग्दैछ’, कांग्रेसले भनेको छ ।

‘बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्वर्धन नेपाली कांग्रेसकै ऐतिहासिक अभिभारा रहेकोे तथ्यमा हामी प्रष्ट छौं’, विज्ञप्तिमा भनिएको छ ।

‘तनहुँ जिल्लामा गत १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी ब्यवहार लगायत देशको विभिन्न भागमा पटक–पटक सरकारबाट प्रस्तुत विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचार देखि अनेकन भ्रष्टाचार काण्ड र बेथिति विरुद्ध यहि मंसिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने’, विज्ञप्तिमा भनिएको छ ।

‘राष्ट्रिय रूपमा उठेका जिवन्त प्रश्नहरूसंगै देश र जनताका ज्वलन्त विषयहरूमा छलफल गर्न संघीय संसदको बैठक बस्न अत्यावश्यक भएकोले संसद बैठक अविलम्ब बोलाउन सरकार र सभामुखसमक्ष माग गर्ने’, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसका यो निर्णयले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई तनाब बढाइदिएको छ ।

आफ्नै पार्टी नेकपाबाट ठूलो असहयोग भइरहेका बेला प्रमुख विपक्षी दल कांग्रेसको आन्दोलन घोषणा र संसदको बैठक बोलाउनुपर्ने मागले ओलीलाई झट्का लागेको छ ।

पार्टीको निर्णयसँगै कांग्रेसका नेता कार्यकर्ताहरूले आन्दोलनको तयारी शुरु गरिसकेका छन् ।

Published : Saturday, 2020 December 5, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया