केपी ओली ज्यान मुद्धामा १४ वर्ष जेल बसेका हुन्ः रामचन्द्र पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली लोकतन्त्रका लागि जेल नपरेको बताएका छन् ।

बुधबार गृहजिल्ला तनहुँको व्यास नगरपालिकाको बुल्दीखोला पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले केपी ओली लोकतन्त्रका लागि नभई ज्यान मुद्धामा जेल बसेको बताएका हुन् ।

उनले भने, ‘यो देशको प्रधानमन्त्री केपी ओली लोकतन्त्रका लागि १४ वर्ष जेल बसेको भनेर क–कसले भन्नुभयो । होइन, ज्यान मुद्दामा बसेको हो ।’

‘जोसमा आएर झापा काण्ड घटिहाल्यो, भुटन चौधरीको हत्या भइहाल्यो । अनि जेल परिहाल्यो’, कांग्रेस नेता पौडेलले भने, ‘यो लोकतन्त्रका लागि हो ? केपी ओली मेरो अगाडि कुरा गरोस् ।’

उनले जनआन्दोलनका बेला बलयगाढा चढेर अमेरिका पुगिन्छ ? भनेका ओली राष्ट्रिय अन्तर्राष्ट्रिय षड्यन्त्रले सरकारको नेतृत्वमा पुगेको बताएका छन् ।

कांग्रेस नेता पौडेलले प्रधानमन्त्री ओलीको राष्ट्रवादमाथि समेत प्रश्न उठाएका छन् । ‘राष्ट्रवादको हिरो त अस्ति देखिहालियो नि’, उनले भने, ‘विदेशी गुप्तचरसँग तीन घण्टा के गरियो ? राष्ट्रवाद त्यही हो ?’

उनले किसुनजीले कम्युनिस्टहरुलाई साथमा लिएर हिँड्न खोजेको तर गर्दागर्दा हैरान भएपछि ‘गधालाई जति धोएर गाई बनाउन सकिएन, कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी हुँदैन’ भनेको स्मरण गरेका थिए ।

वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओली सुध्रिए होलान् भन्ने लागेपनि नसुध्रिएको बताए । उनले कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित छैन भन्ने बुधबारको घटनाले देखाएको बताए ।

Published : Thursday, 2020 December 3, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया