तनहुँ घटना छानविन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारीको बिरोध गरेको छ ।

दलका नेता राधेश्याम अधिकारी र प्रमुख सचेतक अनिता देवकोटाले बिहीबार विज्ञप्ति जारी गरेर वरिष्ठ नेतामाथि भएको अभद्र व्यवहारको भर्त्सना गरेका हुन् ।

‘तनहुँ जिल्लाको व्यास नगरपालिकाको तालघरे स्थानमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता, कार्यकर्ताहरूको शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, तनहुँबाट निषेधाज्ञा जारी गरी नेता, कार्यकर्ताहरूमाथि अभद्र व्यवहार गरी पक्राउ गरिएको कुराको नेपाली कांग्रेस संसदीय दल (राष्ट्रिय सभा) भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘नेपालको संविधानद्वारा प्रदत्त भेला हुने, संगठन गर्ने र शान्तिपूर्ण तवरले कार्यक्रम गर्न पाउने हकमा आघात पुर्‍याउने गरी भएको उक्त कार्यको निन्दा गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समेत माथि भएको अन्यायको छानविन गरी दोषीमाथि कारवाही गरियोस् भनी नेपाली कांग्रेस संसदीय दल (राष्ट्रिय सभा) नेपाल सरकारसंग जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Thursday, 2020 December 3, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया