तरुण दलद्वारा भक्तपुरमा ओलीको पुत्ला दहन, कम्युनिस्ट अधिनायकवादलाई परास्त गर्ने घोषणा

भक्तपुर । तनहुँमा भएको हर्कतविरुद्ध नेपाल तरुण दल भक्तपुरले प्रधानमन्त्री खड्गप्रसाद ओलीको पुत्ला जलाएको छ ।

तरुण दलका अध्यक्ष राजु थापाको नेतृत्वमा जम्मा भएका तरुणहरूले बिहीबार भक्तपुरमा ओलीको पुत्ला जलाउनुका साथै कम्युनिस्ट अधिनायकवादविरुद्ध प्रदर्शन गरेका हुन् ।

कम्युनिस्ट सरकारको निर्देशनमा बुधबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा स्थानीय प्रशासन र प्रहरीले पुल उद्घाटन गर्न दिएको थिएन ।

तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै कम्युनिस्टहरूको अधिनायकवादी हर्कत तरुणहरूलाई स्वीकार्य नरहेको बताए । उनले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई लोकतान्त्रिक संस्कारमा आउन सुझाव दिए ।

‘तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न नदिइ कम्युनिस्टहरूले सत्ता र शक्तिको आडमा ध्वाँस देखाएका छन्’, अध्यक्ष थापाले भने, ‘सत्ता र शक्तिको आडमा भएको प्रहरी दुर्व्यवहार, गिरफ्तारीको तरुणहरूलाई स्वीकार्य छैन ।’

बिरोध र्‍यालीसहित प्रधानमन्त्री ओलीको पुत्ला दहन गरि कार्यक्रम सप्पन्न गरिएको तरुण दलका जिल्ला सदस्य राजु पुरीले जानकारी दिएका छन् ।

कम्युनिस्ट सरकारविरुद्ध थप सशक्त कार्यक्रम घोषणा गर्ने अध्यक्ष थापाले चेतावनी दिएका छन् ।

नेता पौडेल र तनहुँ कांग्रेसका कार्यबाहक सभापति जितप्रकाश आलेलाई प्रमुख जिल्ला अधिकारी सागर आचार्यको आदेशमा प्रहरीले तीन घण्टा नियन्त्रणमा राखेको थियो ।

सो घटनाको विरोधमा कांग्रेस र उसका भ्रातृ संस्थाहरूले बिहीबार देशैभरि प्रदर्शन गरेका छन् ।

Published : Thursday, 2020 December 3, 5:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया