कांग्रेसद्वारा अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको शुभकामना प्रदान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा शुभकामना दिएका छन् ।

सभापति देउवाले बिहीबार शुभकामना सन्देश दिँदै नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा अपाङ्ग दिदीबहिनी तथा दाजुभाइहरूले पुर्‍याएको साहसिक र महत्वपूर्ण योगदानको कांग्रेसले उच्च सम्मान गरेको बताएका हुन् ।

‘मुलुकको जनसंख्यामा उल्लेख्य संख्यामा रहेका अपाङ्गहरूलाई राज्यको निर्णायक संरचनामा सहभागिता र प्रतिनिधित्वको व्यवस्था हुनुपर्दछ भन्ने नेपाली कांग्रेसको धारणा रहँदै आएको छ’, देउवाले भनेका छन् ।

उनले भने, ‘कांग्रेसको नेतृत्वमा निर्माण भएको नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिहरुलाई राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गरिएको छ ।’

‘उहाँहरूको शिक्षा, स्वास्थ्य, रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि नेपाली कांग्रेस सदैव क्रियाशील रहिरहनेछ’, देउवाले भनेका छन् ।

‘अन्तमा, उहाँहरुमा अन्तरनिहित क्षमता, दक्षता, शीप, योग्यता मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा सदुपयोग गर्न सकियोस् भन्दै अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको पूर्ण सफलताको शुभ–कामना व्यक्त गर्दछु’, देउवाले भनेका छन् ।

संयुक्त राष्ट्र संघले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिहरूको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रिय रुपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ ।

Published : Thursday, 2020 December 3, 10:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया