कांग्रेसलाई कमजोर नठान्न नेता थकालीको चेतावनी, कम्युनिस्टहरूलाई सुध्रिन सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले सत्तारुढ नेकपा र कम्युनिस्ट सरकारले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि घृणित कार्य गरेको भन्दै भर्त्सना गरेका छन् ।

पूर्वमन्त्री थकालीले बुधबार प्रेस नोट जारी गरेर झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारबाट नेता पौडेलसहितका नेता कार्यकर्तामाथि तनहुँमा भएको घटनाले संविधानमाथि प्रहार भएको बताए । उनले नेकपाको घृणित कार्यको जति नै विरोध गरे पनि कम हुने बताएका हुन् ।

‘तनहुँको दमौलीमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नवनिर्मित पुलको उद्घाटन गर्न नदिई जुन हर्कत कम्युनिस्ट सरकारले देखायो त्यो कुनै पनि अर्थमा नागरिकले सहन गर्न सक्ने विषय होइन’, पूर्वमन्त्री थकालीले भनेका छन् ।

‘लोकतान्त्रिक संविधान भएको समाजमा त झनै यस्ता घृणित क्रियाकलापको परिकल्पनानै गर्न सकिन्न’, उनले भने, ‘संविधान सभा सदस्यको नाताले संविधानले व्यवस्था गरेको नागरिकको मौलिक हकमाथि सरकार निर्माण भएकै सुरूवातका दिनदेखि नै एकपछि अर्को हमला गर्दै गएको विषयले मलाई गम्भीर एवं चिन्तित बनाएको छ ।’

‘नागरिक सर्वोच्चता, बहुदलीय लोकतन्त्रको स्थापनाको लागि झण्डै ७० वर्ष पार गरेको नेपाली कांग्रेस पार्टीलाई कम आंकलन गर्ने गल्ती नगर्न समेत स्पष्ट पार्दछु ।’

कांग्रेसका वरिष्ठ नेता पौडेललाई कम्युनिस्ट सरकार र उसको माउ पार्टीका कार्यकर्ताबाट तनहुँमा भएको हर्कतको पूर्व मन्त्री एवम् कांग्रेस नेता गौचनले विरोध जनाएका हुन् । उनले कम्युनिस्टहरूलाई सुध्रिन चेतावनी दिएका छन् ।

Published : Wednesday, 2020 December 2, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया