कम्युनिस्ट हर्कतको खाँणद्वारा विरोध, प्रतिरोध गर्न कांग्रेस कार्यकर्तासँग आह्वान

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको कम्युनिस्ट सरकारको हर्कतको विरोध गरेका छन् ।

प्रमुख सचेतक खाँणले बुधबार साँझ विज्ञप्ति जारी गरेर पौडेलमाथि भएको प्रहरी दमन र दुर्व्यवहारको भर्त्सना गरेका हुनज्ञ ।

‘तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत अन्य नेता तथा कार्यकर्ता माथि भएको प्रहरी दमन, दुर्व्यवहार तथा गिरफ्तारीको नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति व्यक्त गर्दछ’, खाँणले भनेका छन् ।

‘नेपाली कांग्रेस जस्तो प्रमुख एवं जिम्मेवार पार्टीको शीर्ष नेतालाई नियन्त्रणमा लिन निर्देशन गर्ने सरकारको निरङ्कुश एवं अनैतिक कार्य अत्यन्त निन्दनीय एवं खेदजनक छ’, उनले भनेका छन् ।

‘सरकारको यस किसिमको अधिनायकवादी कदमको नेपाली कांग्रेस संसदीय दल घोर भर्त्सना गर्दछ’, खाँणले भनेका छन् ।

‘सरकारलाई यस्ता गैरजिम्मेवार र अलोकतान्त्रिक कार्यहरू नगर्न र नगराउन चेतावनी दिन चाहान्छ’, नेता खाँणले भनेका छन् ।

‘यो घटनामा प्रहरीद्वारा लाठीचार्ज हुँदा करीब आधा दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू घाइते हुनु भएको छ’, उनले भने, ‘उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

Published : Wednesday, 2020 December 2, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया