कम्युनिस्ट सरकारविरुद्ध तरुण दलद्वारा देशव्यापी आन्दोलन चर्काउन निर्देशन

काठमाडौं । नेपाल तरुण दलले कम्युनिस्ट सरकारको आधिनायकवादी शैली र निरंकुशतालाई सहेर नबस्ने चेतावनी दिएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार साँझ विज्ञप्ति जारी गरेर वरिष्ठ नेता रामचन्द्र पौडेल, तनहुँका कार्यबाहक सभापति जितप्रकाश आलेलगायतका नेता कार्यकर्तामाथि भएको प्रहरी दमनको विरोध गरेका हुन् । उनले पक्राउ गरिएका सबैलाई तत्काल रिहाइ गर्न चेतावनी दिएका छन् ।

‘आफ्नो गृहजिल्लामा पुल उद्घाटन गर्न जानु भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलज्यू साथै नेपाली कांग्रेस तनहु जिल्ला कार्यवाहक सभापति जितप्रकाश आलेलाई पुल उद्घाटन गर्न नदिई सत्ता र शक्तिको आडमा भएको प्रहरी दुर्व्यवहार र गिरफ्तारीको नेपाल तरुण दल केन्द्रीय समिति घोर निन्दा गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘हाम्रा वरिष्ठ नेता साथै नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यवाहक सभापतिको चाँडोभन्दा चाँडो स–सम्मान रिहाईको जोड्दार माग गर्दछौँ’, तरुण अध्यक्ष बस्नेतले भनेका छन् ।

‘यसै विज्ञप्तिमार्फत प्रशासनको यो गतिविधिको विरुद्धमा सम्पूर्ण जिल्लामा विरोधका सशक्त कार्यक्रमहरू संचालन गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति सबै जिल्ला समितिहरूलाई निर्देशन गर्दछ’, बस्नेतले भनेका छन् ।

‘साथसाथै आगामी दिनमा यस्ता प्रकारका निरंकुश गतिविधि बन्द नभए नेपाल तरुण दल चुप लागेर नबस्ने चेतावनी दिन चाहन्छौँ’, तरुण अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Published : Wednesday, 2020 December 2, 6:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया