कांग्रेसका युवा नेता मल्लले कमाण्डिङ गरेको जलजला उत्कृष्ट ११ को सूचीमा

लामाखेत । पर्वत जिल्लाको जलजला गाउँपालिका कोरोना महामारीका बेला उत्कृष्ट कार्य गरेको भन्दै गण्डकी प्रदेशको ११ वटाको सूचीमा परेको छ ।

गण्डकी प्रदेश सरकारले ११ वटा स्थानीय तहलाई कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै सूची तयार पारेको छ । सो सूचीमा जलजला गाउँपालिका पनि परेको छ ।

नेपाली कांग्रेसका युवा नेता समेत रहेका गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले कोरोना महामारीका बेला जनताको जीवन बचाउन साधन स्रोतले भ्याएसम्म सहयोग गरेका थिए ।

उनले आफ्नै निजी खर्चमा समस्यामा परेका अति विपन्न परिवार र मजदुरहरूलाई खाद्यान्न समेत वितरण गरेका थिए ।

अध्यक्ष मल्लले कोरोना महामारीको जोखिम बढेपछि गाउँपालिकामार्फत ‘एक घर, एक पीसीआर’को अभियान चलाएका थिए । उनले पर्वत जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाहरूलाई पनि सेनिटाइजर, मास्क, खाद्यान्न लगायतका सामग्री पनि तिवरण गरेका थिए ।

अध्यक्ष मल्लले गाउँपालिकाका जननिर्वाचित पदाधिकारी, कर्मचारी र स्थानीय सबैको सहयोगले कोरोना महामारीका बेला थोरै भए पनि काम गर्न सकिएको प्रतिक्रिया दिएका छन् ।

‘हामी सबैको प्रयासले कोरोना महामारी र लकडाउनका बेला राम्रो काम गरिएको रहेछ’, उनले भने, ‘म एक्लैले केही गर्न सक्ने कुरै रहँदैन । सबैको प्रयास र सहयोग रह्यो भने काम गर्न सकिने रहेछ ।’

स्वास्थ्य निर्देशनालय पोखराले ११ वटा जिल्लाबाट एक स्थानीय तहलाई कोरोना महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको भन्दै सूची बनाएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि कोरोना महामारीको समयमा गरेका बिभिन्न कामको आधारमा ११ स्थानीय तह छनोट गरिएको छ ।

कोरोनाका बेला उत्कृष्ट व्यवस्थापन गर्नेमा पर्वतको जलजला गाउँपालिका, म्याग्दीको मङ्गला गाउँपालिका, मुस्ताङको घरपझोङ्ग गाउँपालिका, स्याङजाको पुतलीबजार नगरपालिका, तनहुँको देवघाट गाउँपालिका, लमजुङको सुन्दरबजार नगरपालिका रहेका छन् ।

मनाङको चामे गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका, गोरखाको आरुघाट गाउँपालिका र नवलपुरको देवचुली नगरपालिका पनि उत्कृष्टको सूचीमा परेका छन् ।

कोरोनाभाइरसको संक्रमण र लकडाउनका बेला समयमा संक्रमितको उपचार, क्वारेन्टाइनको व्यवस्थापन, उद्धार, महामारी रोक्नका लागि गरिएको प्रयासलगायतका सूचकाङ्कको आधारमा उनीहरूको मूल्याङ्कन सदरमुकाममा रहेका स्वास्थ्य कार्यालयहरूले गरेका थिए ।

Published : Saturday, 2020 November 28, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया