रमेश बाहुनद्वारा समाचारको खण्डन, तथ्य समाचार लेख्न सुझाव

काठमाडौं । सुजन पौडेल उर्फ ‘रमेश बाहुन’ले रिपब्लिका दैनिकमा आफूविरुद्ध सुनियोजित रुपमा समाचार सम्प्रेषण भएको भन्दै खण्डन गरेका छन् ।

रमेश बाहुनका भाइ सुनिल पौडेलमार्फत उनले आफूविरुद्धका समाचारहरूमा कुनै सत्यता नरहेको बताएका हुन् । ‘मविरुद्ध भ्रामक र कपोलकल्पित लाञ्छना तथा आरोप लगाएर मानमर्दन गर्न खोजिएको छ’, रमेश बाहुनले भनेका छन्, ‘मैले जेलभित्रबाट कसैलाई पनि फोन गरेर धम्काएको छैन ।’

‘म केन्द्रीय कारगार कार्यालय सुन्धारामा विगत सात वर्षदेखि थुनामा रहेको र कारागारमा रहेका कुनैपनि कैदीले जो सुकैलाइ फोन गर्न नपाउने व्यवस्था रहेको छ’, रमेश बाहुनले आफ्ना भाइ सुनिलमार्फत खण्डनमा भनेका छन् ।

‘नजिकको आफन्त वा कानून व्यवसायीलाई मात्र तोकिएको दिन पालोमा मात्र फोन गर्न पाउँछन्’, उनले भने, ‘फोन गर्नुपर्दा कसलाई कुन फोन नम्बरमा कल गर्ने हो सो को पूर्व जानकारी गराइ सुरक्षाकर्मीको सामुन्नेमा मात्र कल गर्न पाइन्छ ।’

‘मैले नजिकका आफन्त र कानून व्यवसायीलाई भन्दा अरुलाई फोन गरेको छैन’, रमेश बाहुनले भनेका छन् । स्रोतमार्फत आएको सो समाचारलाई रमेश बाहुनले जोडदार रुपमा खण्डन गरेका हुन ।

सुनिलले पनि आफ्ना दाई रमेश बाहुन सुध्रिन चाहेको बताएका छन् । ‘मेरो दाई सुध्रिन चाहिरहनुभएको छ’, सुनिलले भने, ‘मिडियाले हुँदै नभएको कुरा ल्याएर एकतर्फी र अनावश्यक रुपमा विवादमा पारिदिँदा हामी परिवार र आफन्तले अनाहकमा सास्ती खेप्नु परेको छ ।’

यसैबीच, रिपब्लिका दैनिकको समाचारबाट जानअञ्जानमा रमेश बाहुनलाई पर्न गएको क्षति र चोटप्रति क्षमाप्रार्थी छ । आउँदा दिनमा रमेश बाहुनका समाचार सम्प्रेषण हुँदा निष्पक्ष र पत्रकार आचार संहिताअनुसार रहनेछ ।

‘रमेश बाहुनका समाचार लेख्नै परे उहाँ र उहाँका आफन्तसँग सर–सल्लाह, प्रतिक्रिया लिएर मात्रै लेखिनेछ’, सम्पादक एम. भट्टराईले भने, ‘जानअञ्जानमा समाचारबाट पर्न गएको क्षति र चोटप्रति क्षमाप्रार्थी छौँ । आउँदा दिनमा गल्ती दोहोरिने छैन ।’ स्रोतबाट आएको फोनसम्बन्धी सो समाचार जस्ताको त्यस्तै राख्दा पीडित पक्षलाई तनाब भएको र सो समाचारको सत्य तथ्य बुझदा विश्वास गर्ने आधार केही छैन । हाम्राे असावधानीले गलत समाचार पर्न गएकाे छ ।

साथै काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्धा फिर्ता लिनका लागि रमेश बाहुनलाई रिपब्लिका दैनिकले अनुरोध पनि गरेको छ । सो मुद्धा फिर्ता लिने आश्वासन रमेश बाहुन र उनका भाइ सुनिल पौडेलमार्फत आश्वासन समेत आएको छ ।

Published : Monday, 2020 November 30, 9:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया