सिन्धुपाल्चोकमा कांग्रेसको रक्तदान, १३३ जना सहभागी

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेसको खेलकुद विभागको आयोजनामा आयोजित रक्तदान कार्यक्रममा १३३ जनाले रगत दान गरेका छन् ।

‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ बिहीबार बाह्रबिसेमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा कांग्रेस नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

रक्तदान कार्यक्रमको संयोजन खेलकुद विभागका सदस्य तपेन्द्रबहादुर दर्नालले गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेत लगायत पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा १३३ जनाले रक्तदान गरेका विभागका सदस्य दर्नालले बताएका छन् । रक्तदान गर्नेमा १३ महिला र १२० जना पुरुष रहेका थिए । मोडल अनुशा रिजालले पनि रक्तदान गरेकी थिइन् ।

कांग्रेस नेता बस्नेतले जनस्वास्थ्यको सवालमा सरकार उदासीन बन्दै गएको बताए । उनले कांग्रेस राष्ट्रको जिम्मेवार पार्टी भएकाले जनताप्रति ऐतिहासिक भूमिका र जिम्मेवारी कायम गर्दै कम्तिमा पनि बिरामीहरूलाई रगतको आपूर्तिमा सम्भव भएसम्म सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको बताए ।

विभागले हालसम्म सम्पन्न भएका रक्तदान कार्यक्रमका सम्पूर्ण रक्तदाता र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णमा कृतज्ञता व्यक्त गरेको छ ।

रक्तदान कार्यक्रम देशका विभिन्न जिल्लाहरूमा मंसिर १५ गतेसम्म स्वास्थ्य मापदण्ड अपनाएर चल्नेछ ।

Published : Thursday, 2020 November 26, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया