कांग्रेस नेतृ डा.संग्रौलाद्वारा ओली सरकारलाई ठेगान लगाउन संसदको बैठक माग

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सांसद डा.डिला संग्रौलाले संसदको अधिवेशन आह्वान गर्न माग गरेकी छिन् ।

सांसद डा.संग्रौलाले जनताको आवाज उठाउनका लागि पनि संसदको बैठक आश्यक रहेको बताएकी हुन् । संसद नहुँदा सरकारले जनताका आवाज नसुनेको बताएकी छिन् ।

नेकपा र सरकारको आपसी अन्तरकलह, किचलो र बैमनस्यताले गत वैशाख २६ गते प्रारम्भ भएको संसदको अधिबेशन २ महिना नपुग्दै हठातमा असार १८ गते स्थगित गरिएको भन्दै उनले असन्तुष्टि जनाएकी छिन् ।

‘जनप्रतिनिधिमुलक सर्वोच्च संस्था संसदको अन्त्य गरी सरकार स्वच्छचारी रुपले जनताप्रति जवाफदेही नभई लोकतान्त्रिक प्रक्रियालाई कुल्चिइ निरंकुशताको बाटोमा अग्रसर हुन पुगेको छ’, उनले भनेकी छिन् ।

कोरोना महामारीले सिर्जित समस्या, कुशासनद्वारा आक्रान्त आम नागरिकको आवाजलाई जनप्रतिनिधिहरूले संसदमा बुलन्द गरि सचेत गराउने कार्यलाई प्रतिबन्ध गरिएको उनले बताएकी छिन् ।

‘नागरिकतादेखि कर्मचारीसम्मका थुप्रै महत्वपूर्ण बिधेयकहरूलाई थाँती राख्न बाध्य पारियो’, कांग्रेस सांसद डा.संग्रौलाले भनेकी छिन् ।

‘संसदलाई छल्दै भटाभट अध्यादेश ल्याउने कार्यले संविधानको मर्ममा आघात पु¥याएको हुँदा अबिलम्ब संसद अधिबेशन आह्वान गरि जनताको आवाजलाई मुखरित गरियोस्’, उनले माग गरेकी छिन् ।

‘निरंकुशताको शैलीले हैन की संविधान र लोकतान्त्रिक पद्धतिको मान्यतामा दृढ भै संसदबाट कुनैपनि समस्याको हल खोजियोस’, कांग्रेस नेतृ डा.संग्रौलाले भनेकी छिन्, ‘संसद अधिबेशन बोलाउन आनाकानी नगरियोस् ।’

खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोना महामारीबाट जनताको जीवन रक्षाका साथै राहतका कार्यक्रम ल्याउनुपर्नेमा काम गर्न सकिरहेको छैन ।

पार्टीभित्रको आन्तरिक कलहमा डुबेको नेकपा र ओली सरकारलाई सहि ठाउँमा ल्याउन संसद बैठक एकमात्र बिकल्प रहेको कांग्रेसको भनाइ छ ।

Published : Wednesday, 2020 November 25, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया