कम्युनिस्ट सांसद मनाङेकी पत्नी मूर्ति चोरेको काण्डमा पक्राउ

हेटौँडा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेकी पत्नी मूर्ति चोरीको अभियोगमा पक्राउ परेकी छिन् ।

मनाङेकी पत्नी दिक्छेन गुरुङलाई बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा उजुरी दिन गएका बेला दिक्छेनलाई पक्राउ गरिएको एसपी सुशीलसिंह राठौरले बताएका छन् ।

एसपी राठौरले जिल्ला प्रहरी कार्यालय, कास्कीले पठाएको फरार सूचीको पत्रअनुसार दिक्छेनलाई पक्राउ गरिएको बताए ।

दिक्छेन अरु कुनै विषयको उजुरी लिएर आएका बेला फरार सूचीमा रहेको भन्दै पक्राउ गरिएको राठौरले बताएका छन् ।

कास्की जिल्लाको पोखराबाट बहुमूल्य धातुको मूर्ति चोरी गरेको घटनामा उनी फरार सूचीमा थिइन् ।

हेटौँडा उप–महानगरपालिका–१२ स्थित माइतीमा बस्दै आएकी दिक्छेनलाई कास्की जिल्ला अदालत पठाएको प्रहरीले जनाएको छ ।

मनाङे सांसद हुनुभन्दा अगाडि विभिन्न आपराधिक गतिविधि गरेको अभियोगमा पटक–पटक प्रहरीको हिरासतमा बसेका व्यक्ति हुन् ।

उनलाई मिडियाले गुण्डा नाइकेका रुपमा बेलाबेला समाचार पनि लेख्दै आएका थिए ।

मनाङेले आफू सरिफ व्यक्ति भएको र मिडिया र प्रहरीले गुण्डा नाइकेको आरोप लगाएको विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताहरूमा उल्लेख छन् ।

Published : Wednesday, 2020 November 25, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया