भगवान विष्णुले जस्तै महिलालाई सबैले सम्मान दिनुपर्छः डा.आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वसांसद डा.आरजु राणा देउवाले विष्णु भगवानले तुलसीलाई दिएको सम्मान जस्तै महिलालाई सम्मान दिनुपर्ने बताएकी छिन् ।

महिला हिंसाविरुद्धको प्रथम दिवसका अवसरमा बुधबार सामाजिक सञ्जाल फेसबुक पेजबाट शुभकामना सन्देश दिँदै डा.राणाले सबैजना एकताबद्ध भएर महिला हिंसा अन्त्य गर्नुपर्ने बताइन् ।

उनले भगवान विष्णुले तुलसीलाई दिएको स्थानको स्मरण गर्दै त्यो सम्मान महिलालाई दिइनुपर्ने उल्लेख गरेकी छिन् ।

‘हामी सबैजना एकताबद्ध भएर हाम्रो समाजबाट महिलाविरुद्ध हुने हिंसालाई जरैदेखि उन्मुलन गर्न लागौँ । एकताबद्ध भएर लागौं’, उनले भनेकी छिन् ।

‘महिला हिंसाविरुद्ध वर्षभरि नै लाग्न सबैलाई अनुरोध गर्न चाहन्छ’, उनले भनिन्, ‘जुन समाजमा महिलाप्रति घरभित्र र बाहिर महिला हिंसा हुन्छ, त्यो समाजको कहिल्यै पनि प्रगति, उन्नति र समृद्धि हुन सक्दैन ।’

‘महिलाहरूलाई हाम्रो धर्मशास्त्रले पनि एकदमै उच्च दर्जा दिएको छ’, कांग्रेस नेतृ डा.राणाले भनेकी छिन्, ‘ आज हरिबोधिनि एकादशी पनि हो । अर्थात तुलसीको विवाह गर्ने दिन । हाम्रो धर्मशास्त्रमा तुलसीको कस्तो ठाउँ थियो ? भन्ने ज्ञान हामी सबैलाई छ ।’

उनले भनेकी छिन्, ‘तुलसीलाई भगवान विष्णुले दिनुभएको सम्मान जस्तै हामीले पनि महिलाहरूलाई सम्मान गरेर घरभित्र र घर बाहिर राम्रोसँग माया, सम्मान गर्ने काम गरेर महिला हिंसालाई उन्मूलन गर्ने अभियानमा संलग्न हुन सबैजनालाई अनुरोध गर्न चाहन्छु ।’

बुधबारदेखि शुरु महिला हिंसाविरुद्धको दिवस शुरु भएको छ । दिवस विभिन्न कार्यक्रम गरि दश दिनसम्म मनाइनेछ ।

Published : Wednesday, 2020 November 25, 6:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया