ओली–देउवा भेटवार्ता गलत थियो ? के भन्छन् कांग्रेस नेता थकाली ?

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले प्रधानमन्त्री खड्गप्रसाद ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको पछिल्लो भेटवार्ताले कांग्रेसका कार्यकर्ताहरू सशंकित भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत पूर्वमन्त्री थकालीले ओली र देउवाबीचको भेटलाई बार्गेनिङको एजेण्डा बन्न नहुने बताएका हुन् । उनले कांग्रेसको अहिलेको प्राथमिकता भनेको आन्तरिक निर्वाचन अर्थात १४औँ महाधिवेशनलाई निष्पक्ष रुपमा गर्नुपर्ने रहेको बताएका छन् ।

‘प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच भएको भेटलाई लिएर नेपालको राजनीति तरंगित हुन पुगेको छ’, उनले भने, ‘जसलाई एकहदसम्म स्वभाविक मान्न सकिन्छ ।’

‘संवैधानिक बहुदलीय लोकतन्त्रमा सत्ता, प्रतिपक्षबीच राष्ट्रिय मुद्दाहरूमा संवाद, सहमति र सहकार्य हुनु पर्दछ’, कांग्रेस नेता थकालीले भनेका छन्, ‘यो हुन सके मात्र लोकतन्त्रले स्थायित्व पाई जनताले विकासको प्रतिफल पाउन सक्छन् ।’

‘सत्तारुढ पार्टीभित्रको अन्तर संघर्ष उत्कर्षमा चलिरहेकै बेलामा भएको यस भेटघाटलाई आम जनता र विशेष गरि नेपाली कांग्रेसका कार्यकर्ताहरू सशंकित भएका छन्’, उनले भने ।

‘यस बेलाको राजनैतिक भेटघाटले सत्तारूढ पार्टीभित्रको अन्तर संघर्षमा हामी नेपाली कांग्रेसको भूमिका उहाँहरूको बार्गेनिङ्ग गर्ने एजेण्डाको समाचार बन्नु हुँदैन’, कांग्रेस नेता थकालीले भनेका छन् ।

उनले भनेका छन्, ‘यदि यसो भयो भने राजनैतिक र रणनैतिक दुवै हिसाबले गलत हनेछ ।’

‘हामी नेपाली कांग्रेसका नेता, कार्यकर्ता जो–जो जून–जून पदमा छौँ त्यी सबै एक प्रकारले अन्तरिम व्यवस्थाका लागि म्याद थपिएका मात्र हुन्’, उनले भने ।

‘हामी नेपाली कांग्रेसजनको अहिलेको आवश्यकता भनेको हाम्रो आन्तरिक निर्वाचन निष्पक्ष, स्वतन्त्र, आम नेपाली जनताको भरोसा र आस्थाको केन्द्र बनाउँनु र साथमा अन्तराष्ट्रिय जगतले समेत सम्मान गर्ने गरि सम्पन्न गर्नु हो’, पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता थकालीले भनेका छन् ।

Published : Wednesday, 2020 November 25, 3:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया