ओलीका मन्त्रीलाई तरुण दल र नेविसंघले तनाब दियो

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका अर्थमन्त्री विष्णु पौडेललाई गृहजिल्ला रुपन्देहीमा नेपाली कांग्रेसले कालोझण्डा देखाएर विरोध जनाएको छ ।

कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पौडेललाई बुधबार बिहान बुटवलमा कालोझण्डा देखाएको हो ।

पौडेलले अर्थ मन्त्री पदसँग राजधानी साटेको भन्दै नेविसंघका कार्यकर्ताले कालोझण्डा देखाएको जनाइएको छ ।

तरुण दल र नेविसंघले अर्थमन्त्री पौडेललाई कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेको कांग्रेसले जनाएको छ ।

मन्त्री पौडेललाई नेपालगञ्ज रोडमा कालोझण्डा देखाएर विरोध प्रदर्शन गरिएको थियो । पछि प्रहरीले प्रदर्शनकारीलाई हटाएको थियो ।

यसअघि पनि कांग्रेस कार्यकर्ताले प्रदेश राजधानी सारेको विरोधमा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले गाडीमा ढुङ्गा प्रहार गरेका थिए ।

यसैबीच, अर्थ मन्त्री समेत रहेका नेकपाका महासचिव पौडेलले आफ्नो पार्टीमा लिकबाहिर जान लागेको एकतालाई फेरि लिकमा नै फर्काउने प्रयास जारी भएको बताएको छन् ।

‘लिक बाहिर जान थालेको एकतालाई फेरि लिकमा लैजाने प्रयास जारी छ’, स्थानीय पत्रकारहरूसँग कुरा गर्दै नेता पौडेलले भनेका छन् ।

उनले आफ्नो पार्टी कल्पना गरिएको भन्दा पनि फरक ठाउँमा पुगेको भएपनि फेरि ट्र्याकमा फर्काउने प्रयास भइरहेको बताए ।

नेतृत्व तहमा मर्यादाको सीमा नाघिएको कारण पार्टी एकता झन्डै दुर्घटनाको अवस्थामा पुगेको उनले बताएका छन् ।

पार्टीका छलफल र बहसलाई एकताका पक्षमा केन्द्रित गर्न आवश्यक भएको उनले बताएका छन् ।

उनले नेता कार्यकर्ता एकताका पक्षमा भएपनि नेतृत्वले त्यो विषयलाई सही ढंगले लिन नसकेको बताएका छन् ।

‘कार्यकर्ता र नेताहरू पाटीमा एकताको पक्षमा छन्’, उनले भने, ‘एकतालाई जोगाउँदै अझ मजबुद बनाउने प्रयास जारी छ ।’

उनले प्रधानमन्त्री खड्गप्रसाद ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेट पनि संवैधानिक र स्वाभाविक भएको टिप्पणी गरेका छन् ।

Published : Wednesday, 2020 November 25, 3:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया