जनताप्रति हाम्रो पनि दायित्व छ, त्यही भएर रगत दियौँः कांग्रेस नेता महर्जन

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले कोरोना महामारीका बेला कांग्रेसका युवाहरूको पनि केही दायित्व रहेको बताएका छन् ।

ललितपुरको मंगलबजारमा आइतबार विभागद्वारा आयोजित रक्तदान कार्यक्रमपछि सम्वाददाताहरूसँग कुरा गर्दै महर्जनले कांग्रेसका युवा, तरुण, विद्यार्थी, खेलाडी, प्रशिक्षक, शुभेच्छुकहरू तथा पार्टीका नेता कार्यकर्ताहरूले सामाजिक दायित्वअनुसार योगदान गर्नुपर्ने बताए ।

उनले कोरोना महामारीका बेला रगत दान गरेर बिरामीहरूको उपचारमा सहयोग गर्न देशभरि अभियान चलाएको बताए ।

‘हाम्रो पनि राज्य र जनताप्रति केही दायित्व छ । सरकारले आफ्नो दायित्व पूरा गर्न सकेको छैन’, उनले भने, ‘कांग्रेस सत्तामा रहे पनि नरहेपनि जनताको सधै सेवा गर्छ ।’

राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष समेत रहेका सचिव महर्जनले कोरोना रोकथाम र नियन्त्रणमा सरकार पूर्ण रुपले असफल भएको बताए । उनले कोरोनाबाट भन्दा पनि सर्वसाधारणहरू अन्य रोगका साथै खान नपाएर भोकले मरिरहेको बताए ।

कांग्रेसको खेलकुद विभागले देशभरिका खेलाडी, प्रशिक्षक र खेलसँग सम्बन्धित सबैलाई क्रियाशील बनाउने उनले बताए ।

‘अरुले के गर्छ हामीलाई थाहा छैन’, उनले भने, ‘कांग्रेसले खेल क्षेत्रको विकासमा केही योगदान गर्छ । खेलाडी, प्रशिक्षकलगायतको आवाज कांग्रेसले बोल्छ ।’

खेलकुद विभागले देशैभरि रक्तदान कार्यक्रम गरेर खेलाडीहरू देशको नाम चिनाउने मात्रै होइनन् आवश्यक्त पर्दा जनताको जीवन बचाउन रगत दिन्छन् भन्ने सन्देश दिएको सचिव महर्जनले बताए ।

Published : Sunday, 2020 November 22, 8:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया