बाँकेमा सह–महामन्त्री डा.महतद्वारा नवप्रवेशीहरूलाई स्वागत, नेकपाभित्र खैलाबैला

नेपालगञ्ज । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले बाँकेमा नेकपासहितका विभिन्न दल परित्याग गरेका नेता कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

बाँके जिल्लाको जानकी गाउँपालिका–६ गनापुरमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा डा.महतले नेकपासहित विभिन्न राजनीतिक दल परित्याग गरेका दुई सयभन्दा धेरै स्थानीय नेता कार्यकर्ताहरूलाई कांग्रेसको सदस्यता दिएका हुन् ।

डा.महतले नेकपाको सरकारका कारण जनता आजित भएका कारण कांग्रेसमा प्रवेश गर्नेहरूको संख्या दिनप्रति दिन बढ्दै गएको बताएका छन् । उनले वडादेखि केन्द्रसम्म सबै साथीहरूलाई व्यवसथापन गरेर जान सकिने बताए ।

कांग्रेसको विवादका विषयमा चिन्तित देखिएका डा.महतले वडादेखि नै मिलेर जानुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

‘अहिले मिलेर जानुपर्छ । सबै साथीहरूले पद पाउँछौँ । वडादेखि नै मिलेर जानुपर्छ’, सह–महामन्त्री डा.महतले भने, ‘कसैलाई तल वा माथि पार्ने हुने गरेर काम नगरौँ । स्थानीय नेतृत्वले मिलाएर लैजाने काम गर्नुपर्छ ।’

डा.महतले वडादेखि मिलेर गयौँ भने कांग्रेस भोलिका दिनमा सत्तामा आउने बताए । ‘हामी मिल्यौँ भने भोलिका दिनमा कांग्रेस सत्तामा आउने हो’, उनले भने, ‘कांग्रेसलाई कसैले रोकेर रोकिदैन । हामीभित्रको एकता नै हाम्रो जित हो ।’

कार्यक्रममा बाँके कांग्रेसकी सभापति किरण कोइराला, पूर्वसांसद राजिव बिक्रम शाह, लक्ष्मीनारायण शाह लगायतले सम्बोधन गरेका थिए ।

Published : Sunday, 2020 November 22, 8:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया