रेलमार्गमा सहकार्यबारे नेपाल–भारतबीच वार्ता

काठमाडौं । रेलमार्ग सहकार्यसम्बन्धि भारत–नेपाल संयुक्त कार्यदलको चौथो बैठक भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ ।

भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा.मनोज सिंहले भारतीय टोलीको नेतृत्व गरेका थिए ।

नेपाली टोलीको नेतृत्व नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव गोपालप्रसाद सिग्देलले गरेका थिए ।

बैठकमा भारतको तर्फबाट भारतीय रेल विभाग, विदेश मन्त्रालय, काठमाडौंस्थित भारतीय राजदूतावास, कोंकण रेलवे तथा आईकोनका वरिष्ठ अधिकारीहरूको सहभागिता थियो ।

नेपालका तर्फबाट रेल विभागका महानिर्देशक, नेपाल रेलवे कम्पनीका महाप्रबन्धक लगायत नेपाल सरकार गृह मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले जयनगर–बिजलापुर–बर्दिबास र जोगबनी–विराटनगरको बीचमा अघि बढिरहेका सीमापार रेलमार्ग परियोजनाहरुको समीक्षा गरेको छ ।

यात्रुबाहक रेलसेवा सञ्चालनका लागि भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर लामो रेलमार्गको प्राविधिक तयारीबारे दुवै पक्षले छलफल गरेको हो ।

बैठकमा नेपाल रेलवे कम्पनीले यात्रुबाहक रेल सेवालाई सुचारु गर्नका निमित्त आवश्यक पर्ने ‘एडीपी’बारे पनि चर्चा भएको छ ।

तत्कालीन ब्रिटिश इन्डियाले न्यारो गेजको रुपमा निर्माण गरेको उक्त रेलमार्ग खण्डलाई भारु. ३८० करोडभन्दा बढी लागतमा भारत सरकारले ब्रोड गेजमा स्तरोन्नति गरेको हो ।

रेलवे लिङ्कमा सेवा सञ्चालन गर्न नेपाल सरकारले भारतबाट दुईवटा डेमु रेल सेट खरिद गरेको छ ।

हाल भारत सरकारले भारु. २०० करोडमा निर्माण गरिरहेको कुर्थादेखि बिजलापुरसम्मको बाँकी खण्डको निर्माण सम्पन्न गर्न दुवै पक्षले आवश्यक आपसी सहयोग तथा समन्वय बारे छलफल गरेका थिए ।

भारु. ३७४ करोड अनुदान सहयोगअन्तर्गत भारतको जोगवनी र नेपालको विराटनगरबीचमा सञ्चालित अन्य अन्तरदेशीय रेलमार्ग परियोजना सम्पन्न गर्नका लागि तीव्र रुपमा काम अघि बढाउन दुवै पक्षले सहमति जनाएका छन् ।

रेल सेवामा कार्यरत नेपाली कर्मचारीहरुको क्षमता विकास गर्न तथा नेपालको आवश्यकताअनुसार कर्मचारीहरुलाई नेपाल र भारतमा प्रशिक्षण दिन संयुक्त कार्यदलका अध्यक्षद्वयले रेलवे क्षेत्रमा सहकार्य विस्तार गर्न सहमति जनाएका छन् ।

दुवै पक्षले रेलवे क्षेत्रमा सहकार्यलाई सुदृढ पार्न हेतु आपसी सहयोगलाई निरन्तरता दिन सहमत भएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2020 November 20, 5:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया