सत्तामा बसेकाहरूबाट जनताको काम हुन सकेनः राजकिशोर यादब

जलेश्वर । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता एवम् प्रतिनिधि सभाका सांसद राजकिशोर यादवले मुलुक कठिन अवस्थामा रहेको भन्दै चिन्ता जनाएका छन् ।

महोत्तरीमा पार्टीका नेता कार्यकर्ताहरूसँगको भेटमा पूर्वमन्त्री समेत रहेका यादबले सरकारले जनताका लागि कुनै पनि सुधारका काम गर्न नसकेको आरोप लगाए ।

उनले राजनीतिक स्थिरता, समृद्धि र विकासका नाममा जनतासँग भोट मागेर सत्तामा पुगेका कम्युनिस्टहरूले निर्वाचनमा गरेको प्रतिवद्धता भुलेको आरोप लगाएका छन् ।

जसपाका वरिष्ठ नेता यादबले कोरोना महामारीका बेला जनताको जीवन रक्षा, उपचार, कोरोनाको रोकथाम तथा नियन्त्रण गर्नुपर्ने बेला सत्ता र पदका लागि नेताहरू झगडा गरेको बताएका छन् ।

उनले भने, ‘जनताले तपाईहरूलाई पाँच वर्षका लागि बहुमत दिएका छन् । देश र जनताका लागि काम गर्नुस् । व्यक्तिगत लाभको राजनीतिमा नलाग्नुस् ।’

महोत्तरी, सिरहा लगायतका जिल्लाहरूका नेता कार्यकर्ताहरूसँग सांसद यादबले भेट गरेर विभिन्न सुझावहरू लिएका छन् । यादबले पार्टीलाई बलियो बनाउन कार्यकर्ताहरूको भूमिका रहनेभन्दै जिम्मेवारीअनुसार सबैले काम गर्नुपर्ने बताएका छन् ।

यसअघि, बुधबार वरिष्ठ नेता यादबले जसपाले जलेश्वरमा गरेको बिरोध प्रदर्शनलाई सम्बोधन गरेका थिए । उनले स्थानीय प्रशासनलाई कसैको चाकडी गरेर बदनाम नहुने सुझाव दिएका थिए ।

यादबले स्थानीय प्रशासनलाई स्वतन्त्र रुपमा जनताको सेवा गर्न आग्रह गरे । सत्ता स्थायी नहुने भन्दै पूर्वमन्त्री यादबले भने, ‘कसैको चाकडी नगर्नुस् । जनताको सेवा गर्नुस् । सत्ता स्थायी हुँदैन ।’

Published : Thursday, 2020 November 19, 8:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया