कांग्रेसद्वारा छठ पर्वको शुभ–कामना प्रदान

काठमाडौं । नेपाली कांग्रेसले छठ पर्वको अवसरमा सम्पूर्ण तराईवासी दाजुभाई तथा दिदीबहिनीहरूलाई शुभकामना दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार छठ पर्वको अवसरमा शुभकामना दिँदै सम्पूर्ण तराईवासी दाजु–भाई तथा दिदी–बहिनीहरूमा सुख, शान्ति, समृद्धि र सफलताका लागि शुभकामना प्रकट गरेका हुन् ।

छठ तराई क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाइने महत्वपूर्ण र पवित्र पर्व हो ।

‘नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरू भएको मुलुक हो’, देउवाले भनेका छन्, ‘यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ ।’

‘हाम्रा यी सबै चाड–पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहरहरू हुन्’, उनले भनेका छन् ।

‘यी चाड–पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएका छन्’, कांग्रेसले भनेको छ ।

‘मुलुक अहिले कोभिड—१९ को महामारीबाट आक्रान्त रहेको छ’, सभापति देउवाले भनेका छन्, ‘यसको रोकथाम र नियन्त्रणमा सरकारको उदासिनताका कारण बढ्दो संक्रमणलाई कम गर्न नागरिक आफै पनि सचेत र सजग हुन जरुरी देखिएको छ ।’

‘स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपले पालना गर्दै भौतिक दुरी कायम गरेर पर्व मनाउन म सबैलाई आग्रह गर्दछु’, शुभकामना सन्देशमा देउवाले भनेका छन् ।

‘अति श्रद्धाका साथ मनाइने छठ पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभ–कामना व्यक्त गर्दछु’, उनले भनेका छन् ।

Published : Thursday, 2020 November 19, 7:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया