गगनको चेतावनीपछि कम्युनिस्ट सरकारभित्र खैलाबैला, ओली दिक्क, दाहाल मख्ख

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद गगनकुमार थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई लगाएका आरोपहरूको जवाफ मागेका छन् ।

बधुबार आफ्नो धारणाहरू ट्वीटमार्फत सार्वजनिक गर्दै कांग्रेस नेता थापाले दाहालले ओलीलाई लगाएका आरोपहरू राष्ट्रिय सरोकारका भएको बताए । उनले त्यसको हिसाबकिताब संसद् र सडकबाट मागिने चेतावनी दिएका छन् ।

थापाले कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले सरकार सञ्चालनलाई लिएर प्रधानमन्त्री ओलीमाथि लगाएका आरोपहरू उल्लेख गर्दै नेकपाको विवाद साम्य भए पनि ती आरोपलाई लिएर हिसाब मागिने बताएका हुन् ।

कांग्रेसका युवा नेता थापाले भनेका छन्, ‘यस प्रकरणमा उठेका र उठाइएका सार्वजनिक र राष्ट्रिय सरोकारका विषयहरूलाई फगत पार्टीभित्रको आन्तरिक शक्ति संघर्षबीच उठेको मनमुटाबको तितो अभिव्यक्तिका रूपमा लिने भुल कम्तीमा प्रतिपक्षले गर्नेछैन ।’

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षले आफ्नै पार्टीका तर्फबाट बन्नुभएको प्रधानमन्त्रीको सन्दर्भमा उठाउनुभएको एकएक प्रकरणको हिसाब किताब अब संसद् र सडक दुवैबाट मागिनेछ’, नेता थापाले चेतावनीको शैलीमा भनेका छन् ।

उनले अध्यक्ष दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्रीलाई लगाएका आरोप नेकपाका आन्तरिक विषय नभएको बताए ।

‘अब यो राष्ट्रिय सरोकारको विषय हो, यो हाम्रो विषय हो’, उनले भनेका छन्, ‘आरोप लगाउने र आरोपित जसले जसलाई फकाए पनि जसले आएर फकाइदिए वा मिलाइदिए पनि अब हाम्रो एक–एक प्रश्नको उत्तर दिन तयार पनि हुनु होला ।’

पार्टीभित्र विवाद चुलिएको बेला दोस्रो वरीयताका अध्यक्ष दाहालले सरकार सञ्चालन गर्दा देखिएको अनियमितता, भ्रष्टाचार, अपराध, कुशासन लगायतमा प्रधानमन्त्री ओली असफल भएको र त्यस्ता कार्यमा संलग्नलाई संरक्षण गरेको आरोप लगाएका थिए ।

दाहालले एकल रूपमा १९ पृष्ठको राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा प्रस्तुत गरेका थिए ।

‘नेकपाको संसदीय दलले चुनेर प्रधानमन्त्री बन्नु भएको खड्गप्रसाद ओलीले स्वच्छ सरकार र सुशासनको कार्यदिशा विपरीत सरकार चलाउनु भयो’, दाहालले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘त्यस्तै ‘भ्रष्टाचार, दुराचार, व्यभिचार र कमिसन खोरी’ नियन्त्रण गर्न सार्थक पाइला चाल्नुको सट्टा वाइडबडी विमान खरिद प्रकरण, सुरक्षण छापाखाना खरिद र सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्ससँगको अपारदर्शी र शंकास्पाद कारोबार, स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समूहसँग साँठगाँठ र बजेट सार्वजनिक गर्नुपूर्व गोप्य राख्नुपर्ने करको दर–रेट परिवर्तनलाई चुहाएर विद्युतीय सवारी र चकलेट आयातमा अनियमितता जस्तो प्रकरणमा मुछिएकाहरूको प्रतिरक्षा गरेर ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गर्नुभयो, कोरोना महामारी विरुद्ध राष्ट्रिय एकताको साथ अगाडि बढ्नु पर्ने बेला पार्टी विभाजन र सत्ताको खेलमा लागेर ओलीले राजनीतिक विवाद मात्र सिर्जना गर्नु भएन कानुन सम्मतको विपद् व्यवस्थापनको राज्य संयन्त्रलाई निष्कृय तुल्याउनु भयो ।’

दाहालले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई लगाएका आरोप थापाले आफ्ना धारणामा उल्लेख गरेका छन् ।

दाहालले भनेका छन्, ‘राष्ट्रियतासँग सम्बन्धित विभिन्न विषयमा अनेक पटक फितलो देखिनु भयो र विदेश मामिला र कूटनीतिमा नेपालको स्वतन्त्र नीति संग मेल नखाने व्यवहार देखाउँदै अयोग्यता प्रदर्शन गरी देशलाई क्षति पुर्‍याउनु भयो ।’

‘द्वन्द्वकालीन मुद्दाहरूलाई राजनीति उद्देश्यका निम्ति उपयोग गर्नुभयो’, दाहालको प्रतिवेदनमा भनिएको छ, ‘समग्रमा सरकार सञ्चालनको दुई वर्षको अवधि हेर्दा प्रधानमन्त्री ओली सम्पूर्ण रूपमा असफल हुनु भयो ।’

नेपाली कांग्रेसका सांसद थापाले अध्यक्ष दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई सरकार सञ्चालनबारे लगाएका यी आरोप पार्टीभित्रका विषयमात्रै नभएको बताएका छन् ।

थापाले यी विषयलाई प्रमुख प्रतिपक्षीले संसद र सडकको विषय बनाउने बताएका छन् ।

Published : Wednesday, 2020 November 18, 6:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया