‘औकात’मा बस्न राजदूत यान्छीलाई खतिवडाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाई आफ्नो मर्यादामा बस्न चेतावनी दिएका छन् ।

राजदूत यान्छीलाई खतिवडाले कुटनैतिक मर्यादामा बसेर जिम्मेवारी बहन गर्न सुझाव दिएका हुन् । खतिवडाले बुधबार बिहान ट्वीट गर्दै राजदूत यान्छीको गतिविधि र क्रियाकलापको आलोचना गरेका छन् ।

खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको आन्तरिक विवादमा देखाएको चासोप्रति पनि आक्रोश पोखेका छन् । नेकपाका नेता नबन्न सुझाव दिँदै उनले भण्डारीलाई मर्यादामा बस्न आग्रह गरेका छन् ।

चिनियाँ राजदूत यान्छीले मंगलबार राति प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग बालुवाटारमा भेटेर नेकपाभित्रको विवाद मिलाउन दवाव दिएको समाचार सार्वजनिक भएका छन् । ती समाचार आइरहेका बेला खतिवडाले राजदूत यान्छीलाई औकातमा बस्न घुमाउरो भाषामा चेतावनी दिएका हुन् ।

‘नेकपा भन्ने पार्टीको सर्बोच्च नेता यी चीनको राजदूत हुन जस्तो लाग्न थाल्यो । दोस्रो नेता राष्ट्रपति’, ट्वीटमा खतिवडाले भनेका छन्, ‘अरु नेता कार्यकर्ता यिनैका आदेशमा चल्ने हुन् जस्तो अहिलेको भेटघाटबाट बुझिदै छ ।’

‘भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखले राति भेटेको समाचारपछि चीनको राजदूत पनि प्रधानमन्त्री भेट्न् रातिनै जानुपर्ने ?’, कांग्रेस नेता खतिवडाले प्रश्न गरेका छन् ।

Published : Wednesday, 2020 November 18, 9:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया