तिहार मान्न हिँडेका यात्रु चढेको बस दुर्घटना, ९ को मृत्यु

बैतडी । बैतडी जिल्लामा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ यात्रु घाइते भएका छन् ।

पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राति करीव साढे दश बजे बस दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा ७ पुरुष र २ महिला रहेका छन् ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगर जाँदै गरेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस सडकबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

दुर्घटनामा ७ जना घाइतेको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई धनगढी उपचारका लागि पठाइएको छ । २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

सानो घुम्तीबाट बस ६ सय मिटर तल खसेको छ । बस चालक समेत घाइते भएर बोल्न नसक्ने अवस्थामा छन् ।

चालक निदाएका कारण बस दुर्घटनामा परेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

Published : Friday, 2020 November 13, 7:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया