संघद्वारा कतारका राजदूतसँग भेट, १७ मेनपावरलाई झट्का

काठमाडौं । नेपालका लागि कतारका राजदूत यूसुफ बिन मोहम्मद अलहालीले नेपाली १७ वटा मेनवापर कम्पनीलाई मात्रै कामदार पठाउने गरेर अनुमति दिन लागेको आरोपलाई अस्वीकार गरेका छन् ।

बिहीबार काठमाडौंस्थित राजदूतावासमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरे र महासचिव सुजितकुमार श्रेष्ठसँगको भेटवार्तामा राजदूत अलहालीले १७ वटा नेपाली मेनपावर कम्पनीलाई मात्रै सिण्डिकेटमा अनुमति दिन लागेका समाचारमा कुनै सत्यता नरहेको बताएका हुन् । महासचिव श्रेष्ठले राजदूत अलहालीले १७ वटा मेनपावर कम्पनीलाई मात्रै कतारले अनुमति दिन लागेको विषय सत्य नरहेको जानकारी गराएको बताए ।

संघका अध्यक्ष गैरेले राजदूत अलहालीसँग अनुमति पाएका मेनपावर कम्पनीहरूले प्रतिस्पर्धाका अधारमा काम गर्न पाउनुपर्ने भन्दै १७ वटा कम्पनीलाई मात्रै अनुमति दिन लागेको विषयमा जिज्ञासा राखेका थिए । अध्यक्ष गैरेले १७ कम्पनीलाई मात्रै अनुमति दिए त्यसले बिग्रह ल्याउने र कतारलाई नै नोक्सानी हुने कुटनैतिक जवाफ दिएका थिए ।

भेटवार्तामा कन्सुलर खालिफा अहमत अल मदिदको पनि उपस्थिति रहेको थियो ।

राजदूत अलहालीले कतार सरकार कुनै पनि एकाधिकारको पक्षमा नरहेको भन्दै विभिन्न अनलाईन र पत्रपत्रिकामा आएका खबरमा कुनै सत्यता नभएको जानकारी गराएको महासचिव श्रेष्ठले बताए ।

यता, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको समितिको १७ वटा ब्यावसाय संस्थाहरूलाई सोधपुछ गर्ने निर्णय गरेको छ ।

सिण्डिकेटको सूचीमा रहेका ती १७ वटा मेनपावर कम्पनीका सञ्चालकहरूलाई बोलाएर समितिले स्पष्टीकरण लिने निर्णय गरेको हो ।

Published : Thursday, 2020 November 12, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया