काठमाडौंमा बिहीबार बिहान ठूलो दुर्घटना, तीनको मृत्यु

काठमाडौं । काठमाडौंको कलंकीमा बिहीबार बिहान ट्रकले कुखुरा बोकेको मिनीट्रकलाई ठक्कर दिएको छ ।

ठक्कर दिँदा तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपील बोहोराले जानकारी दिएका छन् ।

बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको ट्रकले मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको बा ३ ख ७५३० नम्बरको मिनी ट्रकलाई ठक्कर दिएको बोहराले बताए । दुर्घटनामा एक जना घाइते भएका छन् ।

डीएसपी बोहराका अनुसार मृत्यु हुनेमा नुवाकोट सुन्दरादेवीका २४ वर्षीय रोशन तामाङ, तारकेश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे र अर्का एक जनाको नाम खुलिसकेको छैन ।

दुर्घटनामा नुवाकोट तार्केश्वरका २२ वर्षीय विजय तामाङ घाइते भएको डीएसपी बोहोराले बताए ।

दुर्घटनालगत्तै गम्भीर घाइते भएका चारै जनालाई कलंकीस्थित शहीद मेमोरियल अस्पताल लगिएको थियो । तीन जनालाई चिकित्सकले मृत्त घोषणा गरेको बोहराले बताए ।

Published : Thursday, 2020 November 12, 7:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया