कम्युनिस्ट भनेका स्याल हुन्, स्याल कहिल्यै बाघ हुन सक्दैनः खतिवडा

मलंगवा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले स्याललाई बाघ बनाउँदा देश र जनताले सधैँ दुःख पाउने गरेको उदाहरण दिएका छन् ।

सर्लाही जिल्लाको बसबरिया गाउँपालिकाको धनगढामा बुधबार आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले स्याल सधैँ स्यालनै रहने बताए ।

स्याल राजा बनेको कथा सुनाएका युवा नेता खतिवडाले भने, ‘बाघको भुत्ला भएको छाला ओढेर मात्रै हुँदैन । देश र जनतालाई ढाँट्ने काम धेरै टिक्दैन ।’

खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारको आलोचना गरेका खतिवडाले भने, ‘यो सरकार सबैतिरबाट असफल भएको छ । जनतालाई कोरोनाबाट बचाउन सकेको छैन । राहत दिन सकेन ।’

पार्टीका आन्तरिक विवादलाई मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीलाई हैरान भएको भन्दै उनले जनताको पक्षमा काम गर्ने समय नै नभएको बताए । जनताले विश्वास गरेर कम्युनिस्टहरूलाई झण्डै दुईतिहाइ दिँदा पनि सरकारले काम गर्न नसकेको बरु झगडा गरेर बसेको आरोप लगाए ।

नेपाली कांग्रेसलाई जनताले पाँच वर्ष सत्ताभन्दा बाहिर बस्न भनेको बताएका खतिवडाले भने, ‘तीन वर्ष ओलीजीले सरकार चलाउनुभयो । बाँकी दुई वर्ष छ । काम गर्ने समय छ । निर्वाचनमा गरेको प्रतिवद्धताअनुसार सरकारले काम गर्नुपर्छ ।’

अबको निर्वाचनमा नेपाली कांग्रेसलाई जनताले साथ दिने बताए । त्यसका लागि कांग्रेसका नेताहरूले संगठन निर्माणमा विशेष जोड दिनुपर्ने बताएका छन् ।

‘कम्युनिस्टको झगडाले कांग्रेसले अबको निर्वाचन जित्छ भनेर बसियो भने हामी फेरि पनि पराजित हुन्छौँ’, उनले भने, ‘कांग्रेसले गरेका कामलाई जनता समक्ष भन्नुपर्छ । कम्युनिस्ट सरकारको भ्रष्टाचार, अनियमितताको भण्डाफोर गर्नुपर्छ । कांग्रेसको संगठन निर्माण गर्नुपर्छ ।’

खतिवडाले पार्टीभित्र देखिएको विवादलाई नेताहरूलाई अपसी छलफल गरेर मिलाउन सुझाव दिएका छन् ।

उनले शेरबहादुर देउवा वा रामचन्द्र पौडेललाई गाली गरेर मात्रै कांग्रेसमा सुधार नहुने बताए । कांग्रेस बनाउन मिलेर जानुपर्ने उनले बताएका छन् ।

Published : Wednesday, 2020 November 11, 8:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया