जम्बो टोलीसहित ओली बुधबार पूर्व जाने, भारतीय लगानीकाे याेजना हेर्ने

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली बुधबार संखुवासभाको किमाथाङ्का नाका निरीक्षणका जाने भएका छन् ।

संखुवासभाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद राजेन्द्र गौतमका अनुसार प्रधानमन्त्री ओलीले नेपाल–चीनको नाका किमाथाङ्काका विषयमा स्थलगत रुपमा जानकारी लिनेछन् ।

ओलीले सीमा सुरक्षाका लागि स्थापना भएको बिओपीको पनि निरीक्षण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहितका सांसद, नेकपाका नेता तथा जनप्रतिनिधिहरू पनि संखुसभा जाने कार्यक्रम रहेको सांसद गौतमले जानकारी दिए ।

बहालवाला प्रधानमन्त्री संखुवासभा जान लागेको यो पहिलो पटक हो । संखुवासभा भ्रमणका क्रममा ओलीले चेम्ताङ–गोङगोप्पा उत्तर–दक्षिण सडकको पनि अवलोकन गर्नेछन् । यो सडक नेपाली सेनाले बनाइरहेको छ ।

त्यसैगरी, प्रधानमन्त्री ओलीले अप्पर अरुण हाइड्रो पावरको अवलोकन गर्नेछन् । १०६१ मेगावाटको अप्पर अरुणको काम धमाधम भइरहेको छ ।

फ्याक्सिण्दा दोभानमा रहेको अरुण तेस्रोको ड्यामको पनि प्रधानमन्त्री ओलीले अवलोकन गर्ने कार्यक्रम रहेको नेकपाका सांसद गौतमले बताए ।

अरुण तेस्राेमा भारतीय लगानी रहेकाे छ । नेपाल र भारतबीच सम्बन्ध सुधार भएका बेला प्रधानमन्त्रीले भारतीय लगानीकाे याेजना अनुगमन गर्न लागेका छन् ।

कार्यक्रमका क्रममा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले स्थानीय नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्नेछन् । स्थानीय जनताको सुझाव र गुनासाहरू पनि उनले सुन्ने जनाइएको छ ।

Published : Tuesday, 2020 November 10, 11:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया