नेविसंघद्वारा काठमाडौं विश्वविद्यालयलाई ठेगान लगाउने चेतावनी, अनशनप्रति ऐक्यवद्धता

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष राजिव ढुंगानाले विभिन्न माग राखेर रिले अनशन बसिरहेका विद्यार्थीको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।

ढुंगानाले सोमबार विज्ञप्ति जारी गरेर विद्यार्थीको रिले अनशनप्रति पूर्ण समर्थन रहेको जनाएका हुन् ।

‘काठमाडौं विश्वविद्यालयले कोरोना महामारीको कारण नियमित रुपमा पठन पाठन नभएको अवस्थामा पनि सामान्य अवस्थामा जसरी शुल्क बुझाउन भनि असोज २२ गते प्रकाशन गरेको सूचना खारेज लगायतका ४ बुँदे माग राखी विद्यार्थी प्रतिनिधिहरू शैलेश मिश्र, सुजना श्रेष्ठ, आयशा शाक्य र सादाब खानलगायतका साथीहरूको अग्रसरतामा विश्वविद्यालयका विद्यार्थी साथीहरूले गरेको रिले अनशनप्रति नेविसंघ केन्द्रीय कार्यसमितिको पूर्ण समर्थन रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘विश्वविद्यालयमा नियमित रुपमा पठन पाठन नभएको अवस्थामा पनि विभिन्न बहानामा शुल्क मात्र उठाउने प्रयोजन विश्वविद्यालयको हुनुहुन्न भन्ने मान्यतामा नेविसंघ सधैँ अगाडि छ’, अध्यक्ष ढुंगानाले भनेका छन् ।

‘अझ यस्तो प्रतिकूल अवस्थामा समेत ढिलो शुल्क बुझाउँदा लाग्ने थप चार्ज समेत लिनु घोर आपत्तिजनक छ’, विज्ञप्तिमा भनिएको छ ।

‘काठमाडौं विश्वविद्यालयमा अध्ययनरत साथीहरूले राखेको सम्पूर्ण मागहरू तत्काल पूरा गर्नका लागि नेविसंघ केन्द्रीय समितिले काठमाडौं विश्वविद्यालय समक्ष जोडदार माग गर्दछ’, नेविसंघका अध्यक्ष ढुंगानाले भनेका छन् ।

‘काठमाडौं विश्वविद्यालयले विद्यार्थी साथीहरूको जायज मागहरूप्रति उदासीनता देखाएको खण्डमा नेविसंघ केन्द्रीय समिति आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिन चाहन्छु’, विज्ञप्तिमा भनिएको छ ।

Published : Monday, 2020 November 9, 10:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया