दाहालको पक्षमा देखियो नेकपाको अनुशासन आयोग

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय अनुशासन आयोगका संयोजक अमृत बोहराले जिम्मेवार नेतृत्वगणप्रति पार्टी एकता आजको आवश्यकता रहेको बताएका छन् ।

बोहराले सोमबार विज्ञप्ति जारी गरेर पार्टी एकताको विकल्पै नरहेको बताएका हुन् । ‘समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पूरा गर्न यो एकता जरुरी थियो र भविष्यसम्म छ’, उनले भनेका छन् ।

‘फुट र विभाजन प्रतिगामी कुरा छन्’, उनले भने, ‘विगतमा हामीले पार्टी फुटको दुःखद कुरा व्यहोरिसकेका छौं । अब यस्ता गल्तीबाट शिक्षा लिनुपर्छ ।’

‘जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं’, बोहराले भनेका छन् ।

‘पार्टी एकताका बाँकी सबै कामहरू छिटो पूरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई बैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाऔं’, उनले भनेका छन् ।

संयोजक बोहराले पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा बिचलन जस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्वारा परास्त गर्न आग्रह गरेका छन् ।

‘संयम्, धैर्यता र राजनीतिक सुझबुझसहित जनता र राष्ट्रका समस्याका ध्यान केन्द्रित गर्दै पार्टीलाई एकताबद्ध र गतिशील बनाउन नेतृत्वगण प्रति विशेष अनुरोध गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।

दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालसहितका बहुमत केन्द्रीय सचिवालयका सदस्यहरूले प्रधानमन्त्री एवम् अध्यक्ष खड्गप्रसाद ओलीलाई सचिवालय बैठक बोलाउन दवाव दिइरहेका बेला अनुशासन आयोगले पनि बैठक बोलाउन दवाव दिएको छ ।

Published : Monday, 2020 November 9, 2:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया