भारतद्वारा धनुषामा श्री लक्ष्मीनियाँ जनता माविको भवन निर्माण

काठमाडौं । भारत सरकारको २ करोड ६२ करोड बराबरको आर्थिक सहयोगमा धनुषा जिल्लाको कुम्हरौडास्थित श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयको भवन बनाएर हस्तान्तरण गरेको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावास, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय परियोजना कार्यान्वयन इकाई, धनुषा जनकपुरधाम तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरू र स्थानीय प्रतिनिधिद्वारा सोमबार संयुक्त रुपमा उद्घाटन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा १५ वटा कक्षा कोठा र सरसफाई सुविधा सहितको उक्त तीन तल्ले विद्यालय भवनको निर्माण भएको छ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा विकास गरिएको छ ।

भारतले हालसम्म नेपालमा ४२४ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ जसमध्ये धनुषामा १० वटा गरी प्रदेश नं २ मा ४५ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् ।

धनुषा जिल्लामा ९ वटा समेत गरी प्रदेश नं २ मा भारत सरकारको अनुदानमा सञ्चालित २१ परियोजनाहरु सम्पन्न तथा कार्यान्वयनका विभिन्न चरणहरूमा रहेका छन् ।

धनुषाको तुलसियाहीमा वैद्यनाथ देवनारायण जनता उच्च माध्यमिक विद्यालयको निर्माणार्थ मिति २०७६ चैत ३ गते सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपाल सरकारले मुखियापट्टी मुसरनिया गाउँपालिकालाई कार्यान्वयन निकायको रुपमा नियुक्त गरेको छ भने टेन्डर प्रक्रिया पुरा गर्न बाँकी रहेको छ ।

धनुषा जिल्लाको कुम्हरौडास्थित श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालय सन् १९५६ मा स्थापना भएको थियो ।

विद्यालयमा करिब ११०७ जना विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ५० प्रतिशत न्दा बढी छात्रा रहेका छन् ।

नवनिर्मित संरचनाले विद्यार्थीको सिकाई वातावरणलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

Published : Monday, 2020 November 9, 1:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया