भोजपुर कांग्रेस नेता तिवारीको निधन, चपागाइँद्वारा झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाली कांग्रेस भोजपुरका नेता डिल्लीप्रसाद तिवारीको ६२ वर्षको उमेरमा निधन भएको छ ।

क्यान्सर रोगको उपचार गराउँदै आएका तिवारीको कात्तिक २३ गते आइतबार उपचारका क्रममा काठमाडौंमा निधन भएको हो । उनको आइतबार साँझ नै पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिएको छ ।

नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले स्व.तिरावरीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका छन् । चापागाइँले तिवारीको निधनबाट भोजपुर कांग्रेसलाई ठूलो क्षति भएको जनाएका छन् ।

‘डिल्लीप्रसाद तिवारीले देखाउनु भएको राजनीतिक संस्कारलाई हामीले अनुसरण गर्नुपर्छ’, उनले भने, ‘शोकको समयमा उहाँका परिवारजनप्रति समवेदना प्रकट गर्न चाहन्छु ।’

नेपाली कांग्रेस भोजपुरका सभापति नन्दमणि राईले पनि तिवारीको निधनबाट आफू मर्माहत भएको जनाएका छन् । उनले स्व.तिवारीले देखाएको राजनीतिक संस्कारलाई भोजपुरका जनताले सधैँ स्मरण गरिरहने बताएका छन् ।

नेपाली कांग्रेस पौवादुम्माका सभापति मनोज कार्की, नेपाली कांग्रेस तिवारी भञ्ज्याङका सभापति डिल्ली कार्कीले स्व.तिवारीको आत्माको शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

भोजपुरको पौवा दुम्बा गाउँपालिका निवासी स्व.तिवारी कांग्रेसको तर्फबाट २०५४ सालमा तत्कालीन तिवारी भञ्ज्याङ गाविसका अध्यक्ष पदमा उम्मेदवार समेत बनेका थिए ।

२०३६ सालको जनमत संग्रहमा सकृय भूमिका निभाएका तिवारीले २०३८ सालमा पाटन क्याम्पमा नेविसंघबाट राजनीतिक यात्रा शुरु गरेका हुन् ।

नेता तिवारी २०३८–३९ सालमा दुई पटक गरेर ९ महिना ललितपुरको नख्खु जेलमा बसेका थिए ।

Published : Sunday, 2020 November 8, 10:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया