भारतद्वारा नेपाल सरकारलाई आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान

काठमाडौं । कोरोना महामारीविरुद्धको लडाइँमा नेपाल सरकारलाई भारतले २८ वटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ ।

भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई २८ वटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि भारतले नेपाललाई वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री, जेठ ४ गते कोभिड–१९ परीक्षण कीट (आरटी–पिसिआर), साउन २५ गते आइसीयु भेन्टिलेटर र भदौ ३० गते रेमडेसिभिर औषधि प्रदान गरिसकेको छ ।

हस्तान्तरण समारोहमा बोल्दै राजदूत क्वात्राले कोभिड–१९ महामारी विरुद्धको लडाइँमा सफलता हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग भारतको अटूट साथ रहेको बताए ।

उनले यस किसिमका आवश्यक सहयोग गर्न भारत सधै प्रतिबद्ध रहेको बताएका छन् ।

Published : Sunday, 2020 November 8, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया