ललितपुरमा साथीकी पत्नी उडाउन पतिकै ज्यान लिने ‘कुमार’ पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरबाट आफ्नै साथीको हत्या गरेर फरार रहेका २८ वर्षीय कुमार भनिने मनकुमार थिङलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले थिङलाई मकवानपुर जिल्लाको गढी गाउँपालिका–१ ठाँटी टोलीबाट पक्राउ गरेको आइतबार जारी प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

२०७६ साउन २८ गते ललितपुर महानगरपालिका–९ गुहे पोखरीमा थिङले उदयपुर जिल्लाको कटारी नगरपाकिलका–२ गरास घर भई ललितपुर बालकुमारीमा डेरा गरी बस्ने ३३ वर्षीय हरि खड्को हत्या गरेर फरार भएका थिए । मृतक खड्काले मूर्ति बनाउन काम गर्दै आएका थिए ।

‘घटनाको अनुसन्धानका क्रममा मृतक हरि खड्का र मानकुमार थिङबीच ८÷९ वर्ष अगाडिदेखी मूर्ति बनाउने काम गर्ने क्रममा एकआपसमा चिनजान भएको थियो’, प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘सोही क्रममा मृतक हरि खड्काकी श्रीमती र कुमार भन्ने मानकुमार थिङबीचमा समेत चिनजान भई मोवाईलमा म्यासेज आदान प्रदान भएको कुरा मृतकले थाहापाई सोही विषयमा विवाद भएको थियो ।’

‘२०७६ असार २५ गते ललितपुर महानगरपालिका–९ गुहे पोखरीमा मृतक हरि खड्कालाई बोलाई कुमार भन्ने मानकुमार थिङ समेतका व्यक्तिहरूले कुटपिट गरेर हत्या गरी तत्काल फरार भई भारत तथा नेपालका विभिन्न स्थानहरूमा लुकीछिपी बसेका थिए ।’

‘घटनामा संलग्न धने भन्ने आरुष थिङ, मृतककी श्रीमती विष्णु खड्का, दीपक बम्जन, राज बम्जन तथा सागर वाईवालाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पहिला नै पक्राउ गरि आवश्यक कानूनी कारवाही भईरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘घटनाका मुख्य अभियुक्त कुमार भन्ने मानकुमार थिङलाई महाशाखाको निरन्तर फलोअप तथा अनुसन्धान पश्चात् पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि महानगरीय प्रहरी परीसर ललितपुर पठाइएको छ’, महानगरीय अपराध महाशाखा काठमाडौंका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिएका छन् ।

Published : Sunday, 2020 November 8, 12:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया