पूर्वएमाले समूहको काठमाडौंमै भेला, पोखरेलद्वारा सम्बोधन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद भइरहेका बेला अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओली समूहले काठमाडौंमा भेला गरेको खुलासा भएको छ ।

शनिबार धुम्बाराहीस्थित पार्टी मुख्यालयमा पूर्वएमाले निकटका नेताहरूको भेला भएको हो । भेलालाई ओली समूहका उप–प्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गरेको एक नेताले बताएका छन् ।

भेलाको संयोजन नेकपा काठमाठाडौंका अध्यक्ष कृष्ण राईले गरेका थिए । अध्यक्ष राई प्रधानमन्त्री ओली निकट मानिन्छन् । भेलामा काठमाडौं क्षेत्र नं. ५ को विकासका विषयमा छलफल मात्रै भएको दाबी गरिएको छ ।

भेलालाई उपप्रधानमन्त्री पोखरेलले क्षेत्रको भौतिक पूर्वाधार निर्माण, सांस्कृतिक प्रवर्द्धन र संगठन विस्तारमा सक्रिय भएर लाग्न निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले भेलामा सहभागी प्रदेश सभा सदस्य, बागमती प्रदेश कमिटी सदस्य, नेकपा काठमाडौं जिल्ला कमिटी सदस्य, नगर कमिटी सदस्य र जनप्रतिनिधिहरूसंग भएको छलफलमा सो निर्देशन दिएका हुन् ।

भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा नेकपा काठमाडौंका अध्यक्ष कृष्ण राई, प्रदेश सभा सदस्यहरू नारायण सिलवाल, दीपक निरौला, सीता अधिकारी, सीता लामा, नेकपा प्रदेश कमिटी सदस्य शिवकुमारी खनाल, नगर प्रमुख, उपप्रमुख लगायत काठमाडौं क्षेत्र नम्बर ५ का नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

भेलामा संघीय, प्रदेश र स्थानीय सरकारका योजनाहरूका बारेमा पनि समीक्षा गरिएको थियो ।

उप–प्रधानमन्त्री पोखरेलले वर्तमान समस्यालाई पार्टी पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने सम्बन्धमा यसअघि स्थायी समिति बैठकले गरेका निर्णयको धरातलमा उभिएर हेर्नुपर्ने बताए । उनले स्थायी समिति बैठकले गरेका निर्णयलाई इमान्दारितापूर्वक कार्यन्वयन गर्नुपर्ने बताए ।

पूर्वएमालेको भेलामा पूर्वमाओवादीहरूलाई बोलाइएको थिएन । भेला किन बोलाइएको थियो केही भनिएको छैन ।

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद छ । विवाद भइरहेका बेला ओली समूहले पूर्वएमालेका नेता तथा कार्यकर्ताहरूको भेला पार्टी मुख्यालयमा गरेको छ ।

Published : Sunday, 2020 November 8, 12:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया