बागमतीको राजधानीमा नेकपा र राप्रपा १४५ जना कांग्रेसमा प्रवेश

हेटौँडा । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका– १६ को ठूलो आकाशधारा र खाती टोलमा भएका अलग–अलग कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका एकसय ४५ जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

तत्कालीन नेकपा (एमाले)का नेता राधाकृष्ण खातीसहित नेकपा र राप्रपाका नेता कार्यकर्ताहरू शनिबार कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले पार्टीको सदस्यता प्रदान गरेका थिए ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिका–१६ का निर्वाचित वडाध्यक्ष एवम् कांग्रेसका वडा सभापति रामकृष्ण कोइरालाको सभापतित्वमा भएको थियो ।

मकवानपुर सभापति बानियाँले कम्युनिष्टले मुलुकलाई खोक्रो बनाएको आरोप लगाए ।

कम्युनिष्टलाई विश्वास गरेर जनताले सत्तामा पु¥याए पनि उनीहरूले जनताको भावनाअनुसार काम गर्न नसकेको बताएका छन् ।

‘कम्युनिष्टहरुले जनतालाई गुलियो कुरा गरेर यतिन्जेलसम्म भुलाए, अब जनता सचेत भइसकेका छन्’, उनले भने, ‘पछिल्लो समय कांग्रेसमा फर्केनेको लहर नै चलेको छ । जनताको विश्वासलाई हामी कुठाराघात गर्दैनौं ।’

कांग्रेसबाट वडाध्यक्षमा निर्वाचन जितेपछि आकाशधारा पानीसरा क्षेत्रमा पानी, बाटो र बत्ति पुगेको स्मरण गर्दै बानियाँले कांग्रेस सधैं जनताको दुःखसुखको साथी रहेको बताए ।

हटिया, आकाशधारा हुँदै डम्बरपुरबाट निजगढसम्म पुग्ने बाटो स्तरीकरण गर्न प्रदेशबाट आफूले बजेट दिने उनले बताएका छन् ।

वडाका बासिन्दाको आय आर्जन बढाउन विभिन्न कार्यक्रम सञ्चालन गर्न कांग्रेसको सहयोग रहने बानियाँले बताए ।

बानियाँले नवप्रवेशीहरूको क्षमता र क्रियाशीलताको आधारमा कांग्रेसमा भूमिका दिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेताहरू दिनेश उपाध्याय, कृष्णप्रसाद दाहाल, नामदेव सिलवाल, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, हेटौंडा–६ का निर्वाचित वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईं, कृष्णप्रसाद दाहाल, स्थानीय नेता सोमबहादुर मोक्तान, सुरेश तामाङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय लोक गायक गायिका प्रतिमा अर्याल र दीपेन्द्र पुन मगरले सांगीतिक प्रस्तुतिमार्फत मनोरञ्जन दिलाएका थिए ।

Published : Sunday, 2020 November 8, 7:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया