राष्ट्रपति भण्डारीद्वारा नेकपाको आन्तरिक राजनीतिमा हस्तक्षेप, मन्त्री पुनसँग भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सत्ताररुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक राजनीतिमा चासो दिएको भनेर आलोचना भइरहेका बेला उर्जामन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेकी छिन् ।

शुक्रबार भण्डारीले शीतल निवासमा मन्त्री पुनलाई बोलाएर परामर्श गरेकी हुन् । भेटमा के–के कुराकानी भएको थियो केही भनिएको छैन । तर, नेकपाभित्रको विवाद समाधान गर्नका लागि भूमिका खेल्न राष्ट्रपति भण्डारीले नेकपाका नेता समेत रहेका मन्त्री पुनसँग आग्रह गरेको स्रोतले जनाएको छ ।

भण्डारीले यसअघि मंगलबार नेकपाका उपाध्यक्ष बामदेव गौतम र बुधबार गृहमन्त्री रामबहादुर थापालाई शीतल निवास बोलाएर एक्लाएक्लै भेट गरेकी थिइन् ।

संवैधानिक राष्ट्रपति भण्डारीले आफ्नो पदीय मर्यादा विपरित नेकपाको आन्तरिक राजनीतिमा चासो देखाएको भन्दै नेकपाकै नेता भीमबहादुर रावलसहितका नेताहरूले सामाजिक सञ्जालमार्फत आलोचना गरिसकेका छन् ।

राष्ट्रपति भण्डारीले नेकपाको आन्तरिक राजनीति र विवाद समाधानमा धेरै चासो देखाउन थालेपछि नेपाली कांग्रेसका नेताहरूले पनि पदीय दायित्वलाई ध्यान दिएर बस्न चेतावनी दिइसकेका छन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीलाई साथ दिन नेकपाका नेता र मन्त्रीहरूसँग आग्रह गर्ने गरेको स्रोतको भनाइ छ ।

नेकपामा एक्लिदै गएका ओलीको प्रधानमन्त्री पदको कुर्सी हल्लिन थालेपछि राष्ट्रपति भण्डारीले नेकपाका नेताहरूसँग राजनीतिक सम्वादहरू गरेको आरोप नेकपाकै नेताहरूको भनाइ छ ।

Published : Saturday, 2020 November 7, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया