ओलीलाई नरवणेले मोदीको सन्देश यसरी सुनाए

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेले शिष्टाचार भेटवार्ता गरेका छन् ।

बालुवाटारमा शुक्रबार भएको भेटवार्तामा सेनाध्यक्ष नरवणेसँगै भारतीय राजदूत विनय मोहन क्वात्रा तथा अन्य भारतीय अधिकारीहरूको पनि उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।

जनरल नरवणेले ओली र नेपाली जनतालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट शुभकामना सन्देश सुनाएका छन् ।

नेपाल सरकारको न्यानो आतिथ्यका लागि पनि जनरल नरवणेले कृतज्ञता व्यक्त गरेका छन् ।

भेटवार्तामा भारत र नेपालबीचको विस्तृत द्विपक्षीय साझेदारीबारे दुवै पक्षले छलफल गरेका थिए ।

जनरल नरवणेले दुई देशबीचको रक्षा सहकार्यलाई अझ सुदृढ पार्र्ने कुरामा जोड दिएका छन् ।

प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नुअघि जनरल नरवणेले शिवपुरीस्थित ‘नेपाली आर्मी कमान्ड एण्ड स्टाफ कलेज’को भ्रमण गरी त्यहाँका विद्यार्थी तथा कर्मचारीहरूलाई सम्बोधन गरेका थिए ।

आफ्नो भ्रमण समापन गर्नुअघि जनरल नरवणे भारतीय राजदूतावास पुगी नेपालमा रहेका करीब दुई लाख तीस हजार भारतीय सेनाका भूतपूर्व सैनिकहरू तथा उनीहरूका परिवारजनका लागि परिचालित कल्याणकारी कार्यहरूबारे जानकारी लिएका थिए ।

सो क्रममा जनरल नरवणेले भारतको दोस्रो उच्च वीरता पुरस्कार ‘महावीर चक्र’ पदकबाट सम्मानित अवकाश प्राप्त हवल्दार दिलबहादुर क्षेत्रीलाई कल्याणकारी अनुदान प्रदान गरेका छन् ।

जनरल नरवणेले आफ्नो तीन दिने औपचारिक नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न गरी शुक्रबार बेलुका भारत फर्किएका छन् ।

Published : Friday, 2020 November 6, 9:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया