भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्रीका उपकरणहरू प्रदान

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा काठमाडौं आएका भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपाली सेनाका दुई अस्पतालहरूलाई स्वास्थ्य सामग्रीका उपकरणहरू प्रदान गरेका छन् ।

बिहीबार जंगी अड्डामा आयोजित कार्यक्रममा नरवणेले प्रधानसेनापति थापालाई स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

बिहीबार आयोजित एक विशेष समारोहमा भारतीय सेना प्रमुख नरवणेले काठमाडौंको टुडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरी मृत शहीदहरूप्रति श्रद्घाञ्जलि अर्पण गरेका छन् ।

उनी नेपाली सेनाको जंगी अड्डा पुगेका थिए । नेपाली सेनाको एक टुकुडीले उनको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।

त्यस लगत्तै जनरल नरवणेले नेपाली समकक्षी प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता भएको छ ।

सो भेटमा दुवै पक्षबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्नेबारे छलफल भएको छ ।

नेपाली सेनाका वरिष्ठ अधिकारीहरूले भारतीय सेना प्रमुख नरवणे समक्ष ब्रिफिङ पनि गरेका थिए ।

भारत सरकारको तर्पmबाट जनरल नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याब उपकरण, एम्बुलेन्स लगायतका स्वास्थ्य सामाग्रीहरू प्रदान गरेका छन् ।

कोभिड–१९ महामारीविरुद्धको लडाइँमा अझ सघाउ पु¥याउन नेपाली सेनालाई थप भेन्टिलेटर पनि उपहारस्वरुप प्रदान गरिएको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि गत जुलाईमा भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर उपहारस्वरुप प्रदान गरेको थियो ।

Published : Thursday, 2020 November 5, 7:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया