भारतीय सेना प्रमुख नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मान गरेकी छिन् ।

बिहीबार राष्ट्रपतिको कार्यलय शीतल निवासमा आयोजित विशेष समारोहमा नरवणेलाई उक्त दर्जा प्रदान गरिएको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जनरल नरवणेलाई खड्ग तथा सनद–पत्र पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री खड्गप्रसाद ओली, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै देशका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

विगत सात दशकदेखि दुवै देशका सेनाबीच एक अर्काको सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएको छ ।

भारतीय सेनाध्यक्ष नरवणेलाई सोही परम्पराअनुसार सम्मान प्रदान गरिएको छ ।

उक्त दर्जाबाट सम्मानित पहिलो भारतीय सेना प्रमुख सेनापति जनरल के.एम. करिअप्पा रहेका थिए । करिअप्पालाई सन् १९५० मा उक्त सम्मान प्रदान गरिएको थियो ।

यसअघि, गत जनवरीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँ दिल्लीमा आयोजित एक समारोहमा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथी पद प्रदान गरेका थिए ।

समारोह पश्चात् जनरल नरवणेले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । उक्त भेटवार्तामा राजदूत क्वात्राको पनि उपस्थिति थियो ।

राष्ट्रपतिसँगको भेटका क्रममा जनरल नरवणेले आफूलाई दिइएको उक्त सम्मानप्रति विशेष आभार प्रकट गरेका छन् । द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने उपायहरूबारे छलफल गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2020 November 5, 7:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया